काठमाडौं, भदौ १० – लमजुङमा कार्यरत नेपाली सेनाका एक जना साउन २९ गते बाग्लुङ गए।
उनमा सामान्य रूघाखोकी थियो। बाग्लुङबाटै उनको स्वाब परीक्षण गर्न पोखरा पठाइयो। साउन ३ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखियो।
उनैको कन्ट्याक्ट टेसिङका क्रममा लमजुङमा कार्यरत उनीसँग नजिक रहेका सेनाका अन्य जवान तथा अधिकृतको पनि स्वाब परीक्षण गरियो। परीक्षणमा लमजुङमा कार्यरत नेपाली सेनाका २० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए।
लमजुङमा कार्यरत नेपाली सेनामा कहाँबाट कोरोना संक्रमण फैलियो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको उनले बताए। पोखरामा गरिएको परीक्षणमा बुधबार नै लमजुङस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत एक जना कर्मचारीसहित अन्य २ जना पनि संक्रमित भएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित साइ अर्चना अस्पतालका एक जना स्वास्थ्यकर्मी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् अर्का एक जना बिरामीलाई पनि कोरोना संक्रमण देखिएको छ। बुधबार नै नवलपुरमा पनि ७ जना कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेशमा बुधबार मात्र ३३ जना कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक डा। बिनोदबिन्दु शर्माले बताए। उनीहरूलाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए।
योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४६ जना पुगेको छ। जसमध्ये हालसम्म १ हजार ६ सय ४३ जना निको भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा अझै ८ सय ३० जना क्वारेन्टिनमा छन्।
FACEBOOK COMMENTS