प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीे आगामी असार २५बाट अवकाश पाउने भएपछी नेपाल प्रहरीमा २८ औं महानिरीक्षक बन्नको लागि दौडधुप सुरु भएको छ ।
यसपटक नयाँ महानिरीक्षकका लागि दुई जनाबीच मात्र प्रतिस्पर्धा छ । एआईजी शैलेश थापा क्षेत्री र हरि बहादुर पाल । लकडाउनकै अवधिमा दुवै जनाले राजनीतिक भेटघाट बढाउन थालेको स्रोत बताउँछ ।
गत चैतमा भएको एआईजी बढुवामा क्षेत्री पहिलो तथा पाल दोस्रो नम्बरमा परेका थिए । पहिलो नम्बरमा भएकाले क्षेत्रीलाई केही सहजता देखिन्छ तर उनलाई नेकपाको राजनीतिक नेतृत्वले विश्वास नगरेको चर्चा प्रहरी वृत्तमा छ ।
व्यवसायिक अधिकृतको छवी बनाएका क्षेत्री पछिल्लो समय नेकपाका नेताहरुसँग सम्बन्ध बनाउने प्रयासमा छन् । भक्तपुरका स्थानीय भएकाले महेश बस्नेत लगायत मार्फत उनले नेकपा नेतृत्वलाई विश्वासमा लिने प्रयास गरेको स्रोत बताउँछ । तर, गृहमन्त्री रामबहादुर थापा नै उनको कार्यशैलीसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । इमान्दार भएपनि लिडरशीप क्षमता कमजोर भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
एआईजी पालको भने नेकपाका धेरै नेताहरुसँग राम्रो सम्बन्ध छ । प्रधानमन्त्रीकै इच्छा अनुसार डिआईजी बढुवामै उनलाई चौथोबाट दोस्रो नम्बरमा पारिएको स्रोत बताउँछ । तर, एआईजी बढुवामा भने उनी पहिलो नम्बरमा आउन सकेनन् । दोस्रो नम्बरमा एआईजी भएकाले आईजिपी बन्न उनलाई केही गाह्रो हुने देखिन्छ । केही व्यवसायिक घरानासँग निकट भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
आईजिपी बढुवामा कार्यक्षमता लगायतका विषय भन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । दुईमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८ औं महानिरीक्षक हुने निश्चित छ । तर, देशको अवस्था असामान्य भएकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
FACEBOOK COMMENTS