काठमाडौं, चैत १७ – थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समिति र सरकारी प्रतिनिधिबीच मंगलबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ। गृहमन्त्री रामबहादुर थापाका अनुसार वार्तामा दुवै पक्षबाट आआफ्ना कुरा राखिएको छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पहिलो चरणको वार्ता सम्पन्न भयो। थप छलफलका लागि पर्सि (बिहीबार) पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ।’ सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन्।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ। टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन्।
FACEBOOK COMMENTS