काठमाडौं, कार्तिक २० – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुुनासो बढ्न थालेको छ ।
खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताए । इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उनले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताए ।
कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उनी बताउँन्छन । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै उच्च बनाइए पनि त्यसअनुसार शिक्षकको प्रबन्धमा भने ध्यान नदिइएको उनको भनाइ छ ।
राजधानीको पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले सामाजिक अध्ययनको पाठ्यक्रम निकै व्यापक भएको र पुस्तकसमेत नआएका कारण शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताए । कक्षा ११ मा अध्यापनका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने तर सबै विद्यालयमा त्यस अनुसारको विषयगत शिक्षकको समस्या व्यवस्था गर्न कठिनाइ देखिएको उनको भनाई छ ।
यसका साथै प्रविधि नजानेको शिक्षकलाई ११ कक्षा पढाउन समस्या हुने अवस्था रहेको उनको भनाइ छ ।
सामाजिक विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी विश्वविद्यालय तहसम्म जोडिने भएकाले कक्षा ११ र १२ को पाठ्यक्रम केही उच्च स्तरको रहेको तर शिक्षकलाई समयानुुकूूल तालिम नहुँदा अध्यापनमा समस्या भएको बताउन्छन् ।
शिक्षण पेसामा शिक्षाशास्त्र अध्ययन गरेको व्यक्तिलाई मात्र ढोका खुला गरिएका कारण हाल आएर सामाजिक अध्ययन लगायतको विषय अध्यापनका लागि शिक्षक अभाव देखिएको छ । गोरखापत्र दैनिक
FACEBOOK COMMENTS