काठमाडौं, २६ कार्तिक – दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले सोमबार व्यवसायीबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ ।
दीपावली नजिकै जाँदा तिहारमा पकाइने मुख्य परिकारमध्येको सेलरोटी दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन व्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
ललितपुर सातदोबाटो स्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जनभन्दा बढी संघ सस्थाको संयुक्त आयोजनामा (सेलरोटीको स्वाद) Taste of Nepalese Food- The Next Destination (Series) अन्तर्गतको पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली मौलिक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलिकता तथा बजार प्रवर्द्धन गर्ने उदेश्यले कर्मा मिडियाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी व्यवसायीलाई तीन समूहमा विभाजन गरि सेफहरुको तीन वटा निर्णायक मण्डलीले तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट तीन व्यवसायीको छनौट गरेका थिए ।
FACEBOOK COMMENTS