काठमाडौं, माघ १० – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । उक्त बैठकबाट केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै हटाउने तयारी भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका छन्। आजै केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यबीचमा पार्टीको ९ गतेको विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनले बताए।
उनले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । त्यही बैठकबाट अर्को समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीलाई दाहाल-नेपाल समूहले निष्कासन तयारी गरेको छ।
दाहाल-नेपाल समूहले यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो। माघ २ मा पेरिस डाँडामा बसेको नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय बमोजिम ओलीसँग स्पष्टीकरण माग्दै बालुवाटारमा पत्र बुझाइएको थियो।
तर स्पष्टीकरण पत्र बालुवाटार पठाएको तीन दिन बितिसक्दा पनि ओलीले कुनै जवाफ नदिएपछि आइतवारको बैठकबाट उनलाई पार्टीबाटै निष्कासन तयारी यो समूहले गरेको हो।
माघ ५ मा प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग्दै दाहाल-नेपाल समूहका नेता सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने बालुवाटारको पूर्वी गेटमा पुगेका थिए। उनीहरुले बालुवाटारको गेटमै स्पष्टीकरणका लागि पत्र छाडेर आएका थिए।
ओलीलाई स्थायी कमिटीको निर्णयानुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको नेता पाण्डेले बताएका थिए। उक्त पत्रमा ‘विधान विपरित गतिविधि गरेकाले तपाईंलाई थप कारवाही किन नगर्ने?’ भनेर स्पष्टीकरण मागिएको थियो।
यसअघि गत पुस ७ गते कार्की पार्टी प्यालेसमा भएको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीलाई कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको घोषणा गरेको थियो।
पुस ७ मै अध्यक्षबाट हटाइसकेको घोषणा गरेको दाहाल-नेपाल समूहले कारवाही प्रक्रिया भने उल्टो दिशामा अघि बढाएको छ। पुस ५ मा संसद विघटनपछि पुस ७ मा अध्यक्षबाट हटाएका ओलीलाई बल्ल माघ ५ मा यो समूहले तीन दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र पठाएको थियो।
जबकि कुनै पनि जिम्मेवारीको नेतामाथि कारवाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ। तर नेकपामा ओलीलाई हटाएको घोषणाको एक महिनापछि बल्ल स्पष्टीकरण प्रक्रिया नेपाल समूहले अघि बढाएको हो। ओलीले स्पष्टीकरणबारे कुनै जवाफ नदिएपछि अब उनलाई साधारण सदस्यसमेत नरहने गरी दाहाल-नेपाल समूहले निष्कासन गर्न लागेको हो।
FACEBOOK COMMENTS