काठमाण्डौँ — दिल्ली बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ ।
प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ ।
गाडीको छतमा फल्सबटम बनाएर सामान ल्याएको आरोपमा चालक विष्णुकुमार विश्वकर्मा, कलंकी बस्ने दीपा राना र भरत तामाङ पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार महानगरीय प्रहरी वृत्त बालाजुले ना५ख ४८४२ नम्बरको बस नियन्त्रणमा लिएपछि चालक विश्वकर्मा प्रहरीलाई घूस खुवाएर उम्किन खोजेका थिए।
विश्वकर्माले बस प्रहरीले नियन्त्रणमा लिएको सूचना दिएपछि कलंकी बस्ने दीपा राना र भरत तामाङ तीन लाख रुपैयाँ नगद लिएर प्रहरी कार्यालय पुगेको प्रहरी परिसर काठमाडौंका एसपी वसन्त लामाले बताए।
सामान छाडिदिन आग्रह गर्दै उनीहरूले तीन लाख रुपैयाँ तत्कालै र कुरा मिलाए २१ लाख रुपैयाँसम्म दिने बताएको उनले जनाए।
प्रहरीले घूस दिन ल्याएको ३ लाख तथा उनीहरूको साथमा रहेको शंकास्पद साढे दस लाख रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो।
— कान्तिपुर
FACEBOOK COMMENTS