काठमाण्डौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लिलाम बढाबढबाट फ्रिक्वेन्सी दस्तुर बिक्री गर्ने गरी तीन नयाँ कार्यविधि पारित गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले ९ सय, १ हजार ८ सय र २ हजार १ सय मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने सम्बन्धी कार्यविधि पास गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरणसँग ९ सय मेगाहर्ज ब्यान्डमा ३ मेगाहर्ज, १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १६ मेगाहर्ज र २ हजार १ सय मेगाहर्ज ब्यान्डमा ४० मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ ।
यी तीनै ब्यान्डमा रहेका फ्रिक्वेन्सीलाई लिलाम बढाबढका लागि आधार मूल्य तय गरिएको अर्यालले जानकारी दिए ।
उनका अनुसार ९ सय ब्यान्डमा प्रतिमेगाहर्ज आधार मूल्य ४ करोड ८० लाख तय गरिएको छ ।
यस्तै १ हजार ८ सय ब्यान्डमा प्रतिमेगाहर्ज ३ करोड ६० लाख तय गरिएको छ भने २ हजार १ सय ब्यान्डमा प्रति ५ मेगाहर्ज १२ करोड मूल्य आधार मूल्य तय गरिएको छ ।
कार्यविधि पास भएकाले चाँडै प्राधिकरणले लिलाम बढाबढका लागि सार्वजनिक सूचना जारी गर्ने उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS