काठमाण्डौँ — बाराको जितपुर सिमरा उपमहानगरमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ ।
आयोजनाको पहिलो चरणअन्तर्गत पसहा खोलामा तटबन्ध निर्माण र विमानस्थल एरिया छुट्याउने काम अन्तिम चरणमा पुगेको हो ।
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम थालिएकोे हो ।
सरकारको महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजनाको काममा भइरहेको ढिलाइले अन्योलता बढाएको देखिए पनि विमानस्थलको रेखांकन, पिलर, तारबार र तटबन्धनको काम अन्तिम चरणमा पुगेपछि आयोजनाको काममा गति बढेको देखिएको छ ।
पहिलो चरणको कामसँगै आउने आर्थिक वर्षको सुरुवातसँगै टांगिया बस्ती व्यवस्थापन गरेर विमानस्थल वरपर पहुँचमार्ग निर्माण थालिने आयोजनाका इन्जिनियर ओम शर्माले बताए ।
पहिलो चरणमा चार किल्लालाई तारबार लगाउने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउने काम अन्तिम चरणमा भइरहेको समेत उनले जानकारी दिए ।
विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस–८ र ककडी–१ मा नम्बरी आवादी जग्गाको मुअब्जा वितरणको काम जारी रहेको र अब करिब आधा दर्जन व्यक्तिले मात्र मुआब्जा लिन बाँकी रहेको र उनीहरु सम्पर्कमा नरहेको कारण मुआब्जा वितरणको काम टुंगिन नसकेको जनाइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS