काठमाण्डौं — उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिका लागि स्वदेशी तथा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
पुल्चोक नःटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उनले लगानीको खाँचो औंल्याए ।
उनले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै जनतामा रहेका स साना पुँजी संकलन गरी गरिने लगानीलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताए ।
उनले विकास र समृद्धिको शत्रुको रुपमा रहेको भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्न आ आफ्नो ठाउँबाट निरन्तर पहल कदमी र सक्रिय भूमिका निर्वाह गर्न सबैको ध्यानाकर्षण गरे ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला राजधानीसँगै जोडिएको भएपनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताए ।
मेलामा सय वटा स्टल छन् ।
भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशबाट उत्पादित लत्ताकपडा, दैनिक उपयोगी सामान र सज्जावटका सरसामान छन् ।
नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिनाका ७० वटा स्टल छन् ।
विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।
संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीतिअनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिए ।
मेला ५ दिनसम्म चल्नेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS