काठमाडौं,कार्तिक २२- काठमाडौं—तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को परामर्शदाता कम्पनी छनोटमा अनियमितता भएको आशंकामा नेपाली सेनाले तत्कालीन आयोजना प्रमुखदेखि वर्तमान आयोजना प्रमुखसम्मलाई छानबिनमा तानेको छ ।
डीपीआर तयार नहुँदै द्रुतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनाको परामर्शदाता कम्पनी छनोटका विषयमा उजुरी आएपछि तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड र वर्तमान प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको बताए ।
‘आयोजनाको परामर्शदाता कम्पनी छनोटका विषयमा उजुरी आएपछि तत्कालीन आयोजना प्रमुख खाँड र वर्तमान प्रमुख श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको छ, दोषी देखिए कारबाही हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने ।
अनियमितताको उजुरीपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले छानबिन गर्न बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानबिन समिति बनाएका छन् । यस्तै, आयोजना प्रमुखको जिम्मेवारी हाल महासेनानी विकास पोखरेललाई दिइएको छ ।
आयोजनामा खाँड प्रमुखको जिम्मेवारीमा रहँदा परामर्शदाता कम्पनी छनोट भएकाले सो बखत श्रेष्ठ इन्जिनियरिङ विभागको प्रमुख रहेको र उनको समेत संलग्नता रहेको आशंका उजुरीमा परेपछि हाल आयोजना प्रमुख रहेका उनलाई तत्कालका लागि सेनाले जिम्मेवारीबाट हटाएको हो । श्रेष्ठले गत साउनमा जिम्मेवारी पाएका थिए ।
प्रवक्ता पाण्डेले उजुरीपछि छानबिनको निष्कर्ष नआउँदासम्म जिम्मेवारीमा राख्नु जायज नभएकाले छानबिन अवधिसम्मका लागि जिम्मेवारीबाट हटाइएको र दोषी देखिए कारबाही हुने नभए पुनः जिम्मेवारीमा नै फर्किन सक्ने बताए । श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो ।
तत्कालीन प्रमुख खाँडले भने गत १३ असारमा नै अवकाश पाइसकेका छन् । त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बनेका थिए ।
तर, सैनिक कानुनअनुसार अवकास पाइसकेको भए पनि कुनै पनि विषयका लागि आवश्यक परे १ सय ८० दिनसम्म अनुसन्धानमा ल्याउन सक्ने व्यवस्था छ ।
छानबिनका लागि बलाधिकृत रथी गिरीको नेतृत्वमा रहेको समितिले हाल आयोजनाका पुराना कागजातको अध्ययन गरिरहेको छ ।
६ परामर्शदाता कम्पनीको टेन्डर रद्द
नेपाली सेनाले डीपीआर तयार नहुँदै द्रुतमार्गको पुल तथा सुरुङको अध्ययनका लागि छनोट भएका ६ वटा विदेशी परामर्शदाता कम्पनीको टेन्डर रद्द गरेको छ ।
डीपीआर नै तयार नहुँदै आयोजना प्रमुखले परामर्शदाता कम्पनी छनोट गरेको उजुरीपछि सेनाले अध्ययनका लागि छानिएका ६ वटा विदेशी कम्पनीको टेन्डर गत असोजमा नै रद्द गरेको हो ।
टेन्डर रद्द भएका कम्पनीहरूमा कोरिया र स्पेनको संयुक्त कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टेन्ट कम्पनी, सिंगापुर र कोरियाको संयुक्त कम्पनी मेनहर लिमिटेड, अमेरिकाको लुइस वर्जरसहित, पोर्चुगल, कोरिया र भारतको संयुक्त कम्पनी, कोरिया र स्वीटजरल्यान्डको संयुक्त कम्पनी तथा कोरियाको अर्को एक कम्पनी गरी ६ वटा छन् ।
पुरानो टेन्डर रद्द गरेपछि सेनाले पुनः नयाँ टेन्डर खोलेको थियो । जसअनुसार २२ विदेशी परामर्शदाता कम्पनीले परामर्शका लागि इच्छा देखाएर ईओआई दर्ता गरेका छन् ।
ईओआई दिने नयाँ कम्पनीहरूमा सातवटा चिनियाँ, पाँचवटा कोरियन, तीनवटा भारत तथा स्पेन, सिंगापुर, टर्की, बेलायत, अमेरिका, फ्रान्स, र अस्ट्रेलियाका एक÷एक गरी २२ कम्पनी छन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बिहीबार मात्रै उनीहरूको इच्छापत्र खोलिएको र उनीहरूमध्ये ६ वटा कम्पनी दुई साताभित्र छनोट गरेर प्रस्तावना माग गरिनेछ ।आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS