काठमाडौं, भदौ २५ – बिक्रीका लागि तयार भएका केरा धमाधम खेतमा झर्न थालेपछि सुस्ता गाउँपालिका–५ पक्लिहवाका सञ्जय कोहाँरलाई बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। ७ वर्ष अघिदेखि व्यावसायिक केरा खेती गर्दै आएका कोहाँरले २१ बिघा जग्गामा केरा लगाएका छन्।
प्रतिवर्ष एक बिघाको एक लाखका दरले जग्गा लिजमा लिएर उनले खेती सुरु गरेका हुन्। यस वर्ष जग्गा भाडासहित केरा खेतीमा करिब ५० लाख रुपैयाँ खर्च गरेको कोहाँरले बताए। हरेक वर्ष केरा खेतीमा उनले त्यतिकै रकम खर्चंदै आएका छन्।
तर, कोरोना संक्रमणका कारण खेतमा पहेंलै भएको केरा बिक्री हुन नसकेपछि उनी चिन्तामा परेका हुन्। अन्य समयमा केरा खपतका लागि खासै समस्या नभएको उनले बताए। उत्पादित केरा काठमाडौं, धादिङ, पोखरा, बुटवललगायत सहरमा पठाउने गरिएको थियो। कोरोनाका कारण जिल्लाबाट अन्यन्त्र पठाउन नसकेपछि उत्पादित केरा खेतमै झरेर कुहिन थालेको कोहाँरको गुनासो छ। ‘अहिले बजारमा केरा छ। तर, त्यो नेपालको नभई सबै भारतबाट ल्याइएको हो। नेपाली उत्पादनलाई प्रोत्साहन नगरी भारतबाट निर्वाध रूपमा भित्याउन दिँदा समस्या थपिएको छ’, कोहाँरले भने।
कोहाँर मात्र होइन पश्चिम नवलपरासीका किसानको लाखौं रुपैयाँको केरा बारीमै झरेर कुहिने अवस्थामा पुगेको छ। तर, भारतीय केरा भने निर्वाध आउन दिँदा नेपाली केराले बजार पाउन नसकेको किसानको गुनासो छ।
FACEBOOK COMMENTS