काठमाडौं,कार्तिक ९ — धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद् ९नार्क० ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो ।
भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादनको गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालिले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने, ‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।
बीउ नक्कली पुष्टि भएपछि सरकारले उत्पादन गर्ने भारतीय कम्पनीमाथि छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने तयारी गरेको छ । नेपालस्थित आयातकर्ता कम्पनीको बीउ कारोबार इजाजतपत्र खारेज गर्न कृषि मन्त्रालयलाई सिफारिस गरिएको छ । यस्तै, क्षति मूल्यांकन गर्न बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिलाई एक महिना समय दिइएको छ ।
बीउबिजन केन्द्रका अनुसार गरिमा हाइब्रिड धान नेपालमा २०७२ सालमा दर्ता भएको थियो । यसको पाक्ने अवधि १२० देखि १२५ दिन हो । बोटको उचाइ १०० देखि १०५ सेन्टिमिटर हुन्छ भने उत्पादन क्षमता ५।८ देखि ६।३ मेट्रिक टन हो । गरिमा हाइब्रिडको मसिनो दाना हुन्छ ।
यो जातको धान तराई र भित्री मधेसमा सिफारिस गरिएको छ । यस वर्ष वितरण गरिएको बीउ भने ढिला पाक्ने प्रकृतिको रहेको नार्कले जनाएको छ । यो नक्कली बीउ मुलुकभर करिब १७ टन आयात गरी बिक्री गरिएको थियो । यो बीउ लगाएको हजारौं रोपनी क्षेत्रफलमा धानबाली पसाएकै छैन । बाला नलागेपछि किसानले हरियै गाँज काट्न थालेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS