काठमाडौं । धानमा आत्मनिर्भर हुन करिब छ लाख मेट्रिक टन धान अपुग रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गत वर्ष २०७६-७७ को तथ्याङक अनुसार उक्त वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
धानको माग भने ६२ लाख मेट्रिक टन रह्यो । यस आधारमा धानमा आत्मनिर्भरताका लागि छ लाख मेट्रिक टन धान अपुग भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेले गत वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएकामा आत्मनिर्भर हुनका लागि अझै छ लाख मेट्रिक टन धान अपुग रहेको जानकारी दिए ।
१८औँ राष्ट्रिय धान दिवस तथा राेपाइँ महोत्सव २०७८ को उपलक्ष्यमा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आइतबार संयुक्त रूपमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेले उक्त जानकारी दिए ।
उनका अनुसार नेपालमा खाद्यान्नको उपलब्धता हेर्दा ५६ लाख मेट्रिक टनले पनि खान त पुग्छ । बास्नादार तथा मसिनो धानको चामल खाने भएकाले केही अपुग भएको हो । नेपालीलाई एक कराेड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ । धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकिएको उनले बताएकाे गाेरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS