काठमाडौं, असोज ५ – सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगनका लागि आएको खबर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागेका छन्।
विष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो। लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो। सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्।
तरकारीको भाउ र बजारका जानकारी लिने क्रममा एकैछिन पछि अर्को सूचना आयो। पसल नं. ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे। यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले। उनकोमा बाँकी भएको करिब २० किलो प्याज छिनमै रित्तियो।
अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखिएको महानगरको अनुगमन टोलीले बताएको छ।
बजारमा तोफु (भटमासबाट बनेको खाद्यवस्तु) बिक्री गर्ने मिश्र स्वाँरले भने, ‘यसको म्याद त सुँघेर थाहा हुन्छ। किन्नेले सुँघेरै किन्ने हुन्।’ तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन।
महानगरको कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए।
FACEBOOK COMMENTS