नयाँ बर्ष भन्ने वित्तिकै हाम्रो मनमा वहार छाउने गर्दछ । उत्साह र उमंगको संचार हुने हुँदा उत्तिकै रोमान्चित हुने गर्छौ हामी । मानव जातीका लागि हरेक दिनको उत्तिकै महत्व हुने गर्दछ । तर पनि सबै दिनलाई उत्सवका रुपमा मनाईदैन । सांस्कृतिक धरोहरका रुपमा लिईने परम्परागत चाड पर्व देखी लिएर नयाँ बर्षसम्मले छुट्टै महत्व बोक्ने गर्छन् । यि भनेका बिशेष दिनका मानक हुन ।
अर्थात पूर्व निर्धारित हुन्छन । तसर्थ यस्ता दिनलाई धुमधामका साथ मनाउने चलन छ । अझ भन्ने हो भने हरेक सालको प्रारम्भ नयाँ बर्षको दिन अर्थात वैशाख १ बाट हुन्छ । र प्रत्येक बर्ष यस दिनबाट नै उत्सव मनाउन शुरु गरिने वा भनौ पात्रोको गन्ती शुरु हुने दिन नै यहि हो हाम्रा लागि । हुन त हाम्रा विभिन्न जातजाती, भाषाभासी अनुरुपका नयाँ बर्षका दिनहरु छन् ।
अंग्रेजी क्यालेण्डर अनुरुप नयाँ बर्ष मनाउने चलन पनि छ, तथापी सारा नेपालीहरुले साझा रुपमा मान्ने, राष्ट्रियताका हिसाबले सबै जात जाती र समुदायले अपनत्व लिने, भावनात्मक र रिति थितीका हिसाबले पनि आफनोपना झल्काउने दिनमा नयाँ बर्षलाई नै लिइन्छ । यस समयमा रिसराग, वैमनेश्यता, कटुतालाई त्याग्दै आपसी सदभाव, मिलनका लागि जोड दिने गरिन्छ । शुभकामना आदान प्रदान गर्दै आपसी सदभाव साटासाट गर्ने चलन पनि छ । नयाँ बर्षले सदभाव मात्रै होईन नयाँ जोश, नयाँ जाँगर, हौसला पनि दिलाउने गर्छ ।
यसो हुनुमा सांस्कृतिक एवम् मनोसामाजिक पक्षको ठुलो हात छ । समाज डिजिटल युगमा प्रवेश गरेको छ । यस परिप्रेक्ष्यमा आधुनिक समाजको विकास र उनन्यनका कारण पनि मानव जातीमा नविन प्रविधीको प्रयोगमा होडबाजी हुँदै आएको देखिन्छ । फलत यस्ता संस्कार र संस्कृति, रिती थिती, परम्परा मनाउने क्रममा प्रविधीको सहायता लिने, सामाजिक संजाल मार्फत साथीभाइ, आफन्त, इस्टमित्र, शुभेच्छुकहरुलाई शुभकामना पठाउदै आदान प्रदानको क्रियामा संलग्न नहुने सायदै कोही नहोला, अपवाद वाहेक । यो चलन अद्यापी छ । तर हामीले यसो भनि रहदा हाम्रो देश मात्र होइन सिंगो विश्व समुदाय नै संकटको सामना गरिरहेको छ ।
कोभिड १९ को असरले सारा संसार भयवित छ । घर बाहिर निक्लिन सक्ने अवस्था छदै छैन । विश्व भर करिब सभा एक लाख मानिसहरुले ज्यान गुमाई सकेको अवस्था छ । संक्रमितको संख्या बढेको बढैछ । रोकिने छाटकाट छैन । नेपालमा हालसम्ममा कोही पनि हताहत नभएता पनि १२ जनामा संक्रमण भेटिएको भन्ने पुस्टि भैसकेको छ । तसर्थ स्थिती त्यसै पनि भयावह छ । नेपाल भित्र रहेका सारा नेपालीले तीन हप्ता लामो लगडाउन झेलिसकेका छन् ।
यस माझमा खाद्यान्न, स्वास्थ्य एवम् सुरक्षा सेवा वाहेक अर्थात शिक्षालय, अत्यावश्यक वाहेकका उद्योग कलकारखाना, सरकारी कार्यालय, सपिङ मल, कम्प्लेक्स, थिएटर, खेल गतिविधी, यातायात सेवा आदी सबै बन्द छन् । कतिपय स्थानमा त विभिन्न प्रतिकुलताका कारण अत्यावश्यक मानिएका सेवाहरु पनि ठप्प छन् । बजारसम्म पुर्याउने सवालमा दुध ढुवानी, तरकारी ढुवानीमा समस्या देखिएको छ भने पशु चौपायालाई खुवाउनुपर्ने चोक्कर, दाना, परालको ढुवानीमा कृषक वर्गले कठिनाइ महशुश गर्दैछन् ।
स्वास्थ उपचार देखी खाद्यान्न ढुवानी र बिक्री वितरण कार्यमा पनि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ । जसले गर्दा केही अप्ठयाराहरु अाइपरेका छन् । ज्याला मजदुरी गर्ने, अभिभावकविहिन बालबालिका,अपाङता भएका ब्यक्ति, जेष्ठ नागरिक, वेरोजगार, गरिब एवम् सिमान्तकृत परिवारमा राहतको जोहो कसरी गर्ने भन्ने चिन्ता छ भने अधिकांश नागरिकलाई खाद्यान्न र तरकारी कै चिन्ता छ ।
कतै नियमित आपुर्ती नहोला कि भन्ने भय सामान्य नागरिकलाई छ । दिर्घ रोगीहरुलाई औषधोपचारको चिन्ता वेशी छ । कतिपयलाई रोजगारीको गुम्ने चिन्ता छ । यस माझमा सबै भन्दा बढि अत्यास लाग्दो अवस्थामा आम ब्यवसायीहरु पुगेका छन् । लाखौं र करोडौको ॠण लिएर ब्यवसाय संचालन गर्दै आएका ब्यवसायीलाई ब्यापार शुन्य अवस्थामा बैंकको ब्याज कसरी तिर्ने, कर्मचारीलाई तलब कहाँबाट ल्याएर दिने, घर बहाल कसरी चुक्ता गर्ने भन्ने जस्ता मुख्य समस्याले पिरोलेको छ । ब्यापार ब्यवसाय ठप्प भएपछि भविस्यको चिन्ता पनि उस्तै छ । आर्थिक मन्दीको असर कस्तो हुने हो ? तरलताको अभावले कतै उद्योग ब्यवसाय नै धरासायी बन्ने त होईन ? भन्ने जस्ता चिन्ता उद्योगी ब्यवसायीमा छ । यो वर्ग आफ्नो पेशा ब्यवसायबाट आफू मात्रै आश्रित छैनकी, कयौको रोजिरोटी र भविस्य समेतको अभिभारालाई काँधमा बोक्छु भनेर जिम्मेवारीपूर्वक यस क्षेत्रमा होमिदै आएको छ । तसर्थ धेरै घर परिवारको आशा र भरोसाको केन्द्र निजी अथवा भनौ ब्यवसायिक क्षेत्र छ ।
आम्दानी हुँदा कर तिरेर राज्यलाई गुण लगाउने पनि यहि तप्का हो । देश विकासको एक भरपर्दो सारथी पनि यहि तह हो । तर कम्पनी बन्दप्राय अवस्था वा भनौ आँफै बुङो अवस्थामा छन् । र निजी क्षेत्र सम्बद्ध उद्योग र फर्महरुले कसरी सरकारलाई कर तिर्ने हैसियत पनि गुमाएका छन् । तसर्थ निजी क्षेत्रका समस्यालाई पनि सरकारले संबोधन गर्नुपर्छ । राज्यलाई कर तिर्दै पोशण दिने उद्योग कलकारखाना, ब्यवसायलाई गाह्रो अप्ठयारो पर्दा राज्यले संरक्षण गर्न सकेन भने त्यो दु:खद कुरा हुनेछ । सबल हुँदा लिने दुर्वल हुँदा दिने हो ।
तसर्थ यस्ता उद्योग एवम् फर्महरुको लागत लिदै ठोस रुपमा राहतका कार्यक्रम ल्याउन विलम्ब गर्नु हुँदैन । यो अवस्थामा घरभाडा सरकारले तिर्ने, कर्मचारीको तलब ब्यहोर्ने, ब्यवसायको प्रकृती हेरेर ॠण ब्याज मिनाहा गर्ने तथा पुनर्कर्जाको ब्यवस्था गर्ने जस्ता प्रभावकारी कार्यक्रम लागु गर्नुपर्छ । बरु भविस्यमा निश्चित जनशक्तिको रोजगारीको ग्यारेण्टि, करको ग्यारेण्टि जस्ता सवालमा सरकारले शर्त राख्दै ‘विनविन’ को अवस्था सिर्जना गर्न सक्छ । यदि यसो गर्न सकियो भने देशको मेरुदण्डको रुपमा रहेको अर्थतन्त्रमा पनि ठुलो असर पर्ने थिएन । साथै, ब्यवसाय क्षेत्रले राहत महशुश गर्ने वातावरण पनि तयार हुने थियो ।
यस नयाँ बर्षले सरकारलाई नयाँ शिराबाट अघि बढदै निजी क्षेत्रले भोग्दै आएको बिषमतालाई बुझ्ने र आहातमा राहत दिने गरि आर्थिक प्याकेजका कार्यक्रम ल्याउने कुरामा पनि सदासायता प्रस्तुत गर्ने उर्जा प्रदान गर्न सकोस् । सदभावपूर्ण यस दिनमा कोरोनाका कारण सिर्जित प्रतिकुलताबाट मानव समुदायले छिट्टै नै मुक्ती पाअोस । र यो युद्ध जित्न आपसी साथ सहयोग र इमानको उत्तिकै खाँचो छ । धर्यता र संयमताको अग्नि परिक्षामा खरो उत्रदै सरकार, निजी क्षेत्र र आम नागरिक सबै मिलेर अघि बढने शक्ति प्राप्त हुन सकोस् । यस महामारीका कारण रोग, भोक र शोकको सामना कोही कसैले पनि गर्नु नपरोस । मुख्य त मुर्झाएको ब्यापारलाई नयाँ बर्षले नयाँ सन्देश लिएर आअोस् ।
यस्तो अवस्थामा कसको अनुहारमा चमक आउला । श्रमजिवी देखी धनाढय ब्यापारीवर्गसम्ममा वेचैनी छ । अनिश्चितताको भुमरीले भाउन्न बनाई रहेको छ । हरेक नेपालीको चेहरामा उदासी र मलिनता शिवाय केही छैन । तर पनि मान्छे रमाउन वाध्य छ । र यो नयाँ सालले आतिशबाजी र मनोरंजनको गतिविधीजन्य अवसर गुमाए पनि सामाजिक संजाललाई भने रंगाउन कुनै कसर बाँकी राखेको भने छैन । त्यसैले नयाँ साल धेरैका लागि मुतको न्यानो झै भएको छ । परिवेशका हिसाबले यो पिडाको घडिमा नयाँ बर्ष तमाम नेपाली माझ टर्च बनेर आएको प्रतित हुन्छ, जसले उज्ज्यालो कम दिए पनि खुशी भने बढि नै दिन सकोस् ।
अन्त्यमा,
मुख्यत: देशको कुल गार्हस्थ उत्पादनमा ७० प्रतिशतको योगदान दिदै आएको निजी क्षेत्रसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपमा धेरैको रोजीरोटी र भविस्य जोडिएको छ । तसर्थ मानव समुदायले यस संकटको घडीमा अस्तित्वको लडाईं लडदै गर्दा ढिलो चाडो जित प्राप्त त गर्ने नै छ तर त्यस पस्चात आईपर्न सक्ने आर्थिक संकटलाई टाल्न पनि उत्तिकै सजगता अपनाउन उत्तिनै आवश्यक छ । अन्यथा विश्व नै आर्थिक मन्दीको चपेटामा पर्दै गर्दा हामीलाई लामो समयसम्म असर पर्न सक्छ । त्यस अवस्थामा पनि रोग, भोक र शोकको स्थिती टड्कारो रुप देखापर्न सक्छ । यसतर्फ पनि राज्यको ध्यान जान नितान्त जरुरी छ । निजी क्षेत्र भनेर उपेक्षा होइन, आड भरोसा दिन आवश्यक छ ।
FACEBOOK COMMENTS