काठमाडौं, जेठ २६ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर विक्रीवितरण गरिएका सबै पुस्तक जफत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करणका पुस्तकहरूमा समेत नेपालको पुरानै नक्सा छापेपछि आक्रेशित बनेका मन्त्री श्रेष्ठले यस्तो कडा कदम चालेका हुन् ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज बुधबार सम्पन्न ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न समेत पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक विक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा विक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।
प्रकाशक र विक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक विक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । ‘तपाईंहरूले अनुगमन गर्नुस, देशको स्वाभिमान र सार्वभौमिकतामाथि आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक विक्री गरेको पाइए तत्काल प्रहरी प्रसाशन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक विक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र विक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं ।’ उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।
अधिकांस विक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी विक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक विक्री गरेका प्रकाशक र विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौ, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौं ।’
अधिकांश पुस्तक प्रकाशक र विक्रेताले सामाजिक शिक्षा र जीकेलगायत पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिनुभएको छ । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS