नरेन्द्रसिह कार्की
दार्चुला– शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ ।
वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोवार बढेको हो ।
गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार भइरहेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राखिएका छन् ।
यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोवार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका–१ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । विगतमा यति धेरै बिक्री भएको थिएन, उहाँले भन्नुभयो, “यो वर्ष सोचेअनुसारको सामग्री बिक्री भइरहेको छ ।”
मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका–४ रानीशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निगालोको सामान बिक्रीको लागि ल्याइएको छ । मेलामा मोट्टा रु एक हजार ५०० देखि चार हजारमा बिक्री भइरहेको छ ।
यस्तै सुप्पा तथा छाप्राको रु २०० देखि ४०० सम्म कारोवार भइरहेको व्यापारी उमेश धामीले बताउनुभयो । दह घोल्जरका मात्रै १०० परिवारले प्रतिपरिवार १० देखि १५ हजारसम्म निगालोका सामग्री बनाएर बिक्रीको लागि ल्याएका छन् ।
जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिका–१ दह क्षेत्रमा सबैभन्दा बढी निगालो उत्पादन हुने गरेको छ । निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्छन् ।
निगालोका सामग्री निर्माणमा मेहनत धेरै लाग्ने भए पनि मेहनतअनुसारको ज्याला नपाइने उनीहरु बताउँछन् । जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ ।
कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउँछन् । कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या नभएको उनले बताए । विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरेपनि अहिलेभने कम हुँदै गएको छ ।
रासस
FACEBOOK COMMENTS