काठमाडौं, जेठ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शनिबार बसेको बैठकले यही जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ । परिस्थिति सहज बनेपछि महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने बताइएको छ ।
यस्तै बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई अपिल पनि गरेको छ ।
‘संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसीयु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसँग माग गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।
‘कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ,’ राप्रपाले भनेको छ, ‘नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।’
FACEBOOK COMMENTS