काठमाडौँ — सरकारले निजी व्यापारीभन्दा सस्तोमा खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ । दसैंमा उपभोक्तालाई सहुलियत दरमा बिक्री गर्न खसी प्रतिकिलो ५ सय ५० र च्याङ्ग्रा ७ सय ३० रुपैयाँमा बिक्री गरेको हो ।
उक्त मूल्यमा थप १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा बिक्री गरिएको हो । बैठकले च्याङ्ग्राको मूल्य ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । उक्त मूल्यमा थप १० रुपैयाँ छुट दिएर प्रतिकिलो ७ सय ३० रुपैयाँमा बिक्रीमा राखेको महाप्रबन्धक गौचनले बताए । ‘खसीबोकाको बजारमूल्य निरन्तर विश्लेषण गरिरहेका छौं । सबै अध्ययन र विश्लेषणसहितका छुट दिएर बिक्री गरेका छौं,’ उनले भने, ‘कम्पनीले बेच्ने मूल्य धेरै सस्तो हो ।’
चौपाया व्यवसायी संघ कलंकी र काठमाडौं चौपाया खरिद बिक्री प्रालिले खसीअनुसार प्रतिकिलो ५ सय ५० देखि साढे ६ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । संघका निर्वतमान अध्यक्ष दीपक थापाका अनुसार च्याङ्ग्रा अनुसार प्रतिकिलो ८ सय र खसीबोका पनि निरोगिता अनुसार प्रतिकिलो साढे ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । ठूलो भुँडी मासु कम आउने खसीबोका भने ५ सय ५० रुपैयाँमा पाइने थापाले बताए । व्यवसायीहरूले विभिन्न मूल्य राखेपछि उपभोक्ता अन्यौलमा परेको खाद्य व्यवस्था कम्पनीको दाबी छ ।
‘दुई–तीन थरी मूल्य गर्दा उपभोक्ता भ्रममा परेका छन् । अनुगमनको क्रममा ठूलो भुँडी र रोगी ५ सय ५० भनेका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सरक्षण विभागका महानिर्देशक समेत रहेका गौचनले भने, ‘यसले उपभोक्तामा भ्रम सिर्जना भएको छ ।’ खाद्य व्यवस्था कम्पनीले बिक्री गर्ने खसीबोका भने पूर्ण रूपमा स्वस्थ रहेको उनको दाबी छ । उक्त खसीबोका एउटा परिवारलाई एउटा मात्रै खरिद गर्न पाउने जनाएका छन् । खाद्य व्यवस्था कम्पनीका विभागिय प्रमुख श्रीमणि खनालले पनि घाटा खाएर सहुलियत दरमा बिक्री भइरहेको बताए । उनका अनुसार हेटौंडामा प्रतिकिलो खसी ५ सय ७० रुपैयाँमा खरिद भएको छ । दाङमा प्रतिकिलो ५ सय ३५ रुपैयाँमा खरिद भएको छ ।
‘यो मूल्य ढुवानी बाहेकको हो,’ उनले भने, ‘ढुवानी खर्च जोड्दा कम्पनी नोक्सानमा हुन्छ । यद्यपि चाडबाडमा उपभोक्तालाई सस्तोमा उपलब्ध गराउने उद्देश्य हो ।’ उनका अनुसार मुस्ताङमा च्याङ्ग्रा प्रतिकिलो ५ सय ६० मा खरिद भएको छ । बेनीसम्म करिब ४ दिन हिँडाएर बेनीबाट ढुवानी गरिएको छ । ‘खरिद गर्ने क्रममा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने खरिद समितिले मूल्य निर्धारण गर्छ । खरिद मूल्यमा कुनै बार्गेनिङ हुँदैन,’ उनले भने, ‘सबै जोड्दा बिक्री मूल्य केही नोक्सानमै छौं ।’ उनका अनुसार व्यवसायीले उपत्यका भित्र्याएका च्याङ्ग्राभन्दा सरकारले ल्याएकाको राम्रो छ । मुस्ताङको गोठगोठबाट खरिद गरिएको छ ।
व्यवसायीहरूले भने मुस्ताङसँगै तातोपानीबाट पनि आयात गरेका छन् ।
सरकारले सस्तो मूल्यमा बिक्री गरे पनि खसीबोका र च्याङ्ग्राको संख्या भने न्यून छ । सरकारले एक हजार खसीबोका र २ हजार च्याङ्ग्रा मात्रै बिक्री गर्ने योजना राखेको छ । यसले बजार हस्तक्षप हुन नसक्ने जानकारहरू बताउँछन् । यद्यपि, सरकारी अधिकारीहरूले भने मूल्य स्थिर राख्ने बताउँछन् । ‘गत बर्ष २ हजार लक्ष्य थियो । खसीबोका ३ सय र च्याङ्ग्रा ९ सय मात्रै खरिद हुन सक्यो । अहिले ३ हजार योजना छ । च्याङ्ग्रा १ हजार ९ सय २० र खसीबोका एक हजार वटा नै खरिद भएको छ,’ महाप्रबन्धक गौचनले भने, ‘स्रोत साधन पनि पर्याप्त छैन । संख्या थोरै भए पनि यसले बजारमा मूल्य स्थिरीकरण ल्याउँछ । बिचौलियाले चलखेल गर्न पाउदैनन ।’
FACEBOOK COMMENTS