काठमाण्डौँ — प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ ।
एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरूमाथि कारबाही चलाउन लागेको हो ।
समितिले एसपी विष्ट, डीएसपीहरू अंगुर जीसी र ज्ञानबहादुर सेटठी, इन्स्पेक्टरहरू एकेन्द्र खडका, जगदीश भट्ट र गणेश सापकोटा, ४ सई, ३ हवल्दार र ५ कन्स्टेबलमाथि विभागीय कारबाही सिफारिस गरेको छ ।
प्रतिवेदनले दोषी ठहराएकालाई अब कानुन शाखाले विभागीय कारबाही गर्नेछ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध परेको जाहेरी दरखास्त फौजदारी कसुरका रूपमा अघि बढ्ने र उक्त मुद्दाको सुनुवाइका क्रममा पनि यो प्रतिवेदन प्रयोग हुनेछ ।
एआईजी बस्न्यात नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा घटनास्थलको कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS