काठमाण्डौं — जिल्ला समन्वय समिति गोरखाले निश्चित अवधिका लागि मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।
नदीजन्य पदार्थको ठेक्का लगाएका जिल्लाको चुमनुब्री गाउँपालिकाबाहेक सबै स्थानीय तहलाई समन्वय समितिले पत्र पठाएको हो ।
नदीजन्य निर्माण सामग्रीको अभावमा भूकम्पपछिको पुनर्निर्माण तथा विकास निर्माणका काम अलपत्र परेको स्थानीय तहको पत्रका आधारमा निश्चित अवधिभित्र निश्चित परिमाणमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न समन्वय समितिले अनुमति दिएको हो ।
पत्रअनुसार स्थानीय तहले ठेक्का लगाएका घाटबाट चैत २५ गतेदेखि परिमाणअनुसार वैशाख १५ गतेसम्म मात्रै मेसिन प्रयोग गरेर ढुंगा, गिटी, बालुवा उत्खनन गर्नसक्नेछन् ।
जसअनुसार पाँच हजार घनमिटरसम्मको नदीजन्य पदार्थ उत्खननका लागि १० दिनको समय अवधि दिएको छ ।
पाँच हजारदेखि १० हजार घनमिटरसम्मको परिमाण उत्खननका लागि १५ दिन र १० हजार घनमिटरभन्दा बढी परिमाणको नदीजन्य पदार्थ २० दिनभित्र घाटगद्धी गरिसक्नु पर्ने समन्वय समितिले स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।
चेनवाला एक्जाभेटरबाहेक उपयुक्त उपकरणको प्रयोग गरी चैत २५ गतेदेखि नदीजन्य सामग्री उत्खनन तथा संकलन गर्न स्थानीय तहलाई अनुमति दिएको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS