काठमाडौं, २७ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ६९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३६३ वटा गाडी र २ हजार ३३२ वटा मोटरसाइकल छन् ।
नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ७३५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६४७ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६७ हजार ८०० रुपैयाँ जरिवाना गरिएको छ ।
सो क्रममा ४ हजार ६६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ७५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९९३ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको छ ।
FACEBOOK COMMENTS