 
			                  			              
काठमाडौं, भदौ १७ – कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि काठामाडौं उपत्यकामा जारी निषेधाज्ञाको निरन्तरताका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको निर्देशनको प्रतिक्षामा छन् ।
भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको म्याद पुनः एक हप्ता थपेर भदौ १७ गते (बुधबार)सम्मका लागि पु¥याइएको थियो । जसअनुसार जारी निषेधाज्ञाको म्याद आज (बुधबार) राति १२ बजेदेखि सकिन लाग्दै छ ।
तर, त्यस अगाडि नै जारी निषेधाज्ञाका सन्दर्भमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु गृह मन्त्रालयको निर्देशन कुरिरहेका छन् ।
निषेधाज्ञाको विषयमा मंगलबार दिउँसो नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल माध्यमबाट वार्ता भएको थियो । उक्त वार्ताले निषेधाज्ञाको सन्दर्भमा थप निर्णयका लागि गृह मन्त्रालयको निर्देशन लिने समझदारी निर्माण गरेको थियो ।
गृह मन्त्रालयमा पत्राचार पनि गरिएको थियो । तर, बुधबार दिउँसोसम्म गृह मन्त्रालयबाट कुनै निर्देशन प्राप्त भइसकेको छैन ।

‘निषेधाज्ञाको सन्दर्भमा निर्णय गर्न आज (बुधबार) साँझसम्म पनि हाम्रो वार्ता हुन्छ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘त्यतिबेलासम्म गृह मन्त्रालयबाट पनि निर्देशन आउँछ होला ।’

यद्यपि, बैठक बुधबार साँझ कति बजे बस्छ भन्ने निश्चित भने भइनसकेको प्रजिअ पाण्डेको भनाइ छ । निषेधाज्ञाबारे निर्णय गर्नु अगाडि सुरक्षा निकायबाट आवश्यक सुझाव लिइने पनि पाण्डेले बताइन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित अधिकारीहरुको सुझाव लिइने पाण्डेको भनाइ छ ।

तर, गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा भने निषेधाज्ञा जारी गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीमै निहित भएकाले त्यसका लागि गृह मन्त्रालयले निर्देशन दिइराख्नु नपर्ने बताउँछन् । तर, केही सुझाव आवश्यक परेको खण्डमा भने मन्त्रालयले दिन सक्ने उनी बताउँछन् ।

‘निषेधाज्ञा जारी गर्ने विषय उहाँहरु (सीडीओ)कै अधिकार क्षेत्र भित्र पर्छ । यसमा गृह मन्त्रालयले निर्देशन दिइराख्नु पर्दैन्,’ प्रवक्ता बुढा भन्छन्, ‘निषेधाज्ञाको कार्यान्वयनका सन्दर्भमा आवश्यक परेको सुझाव मन्त्रालयले दिन सक्ने हो । तर, निर्णय भने उहाँहरुले नै गर्ने भएकाले आज गर्नुहुन्छ होला ।’
 
              
              
              
              		              
FACEBOOK COMMENTS