काठमाडौं, मंसिर १२ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार १ सय १६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूचीअनुसार एसोसिएट्स, द्विराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार १ सय १६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्ने भएका छन् ।
महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९ सय ४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १ सय १ र जिल्ला नगर उद्योग वाणिज्य संघका १ सय ५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।
उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यकारी समिति निर्वाचन गदैछ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
चन्द्रप्रसाद ढकाल टिमबाट जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी किशोर प्रधान टिमबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् । हिजोदेखि सुरु भएको महासंघको साधारण सभाको क्रममा भोलि शनिबार मतदान हुँदैछ ।
मतदानका लागि महासंघले तीन फरक फरक ठाउँमा व्यवस्था गरेको छ । प्रज्ञा प्रतिष्ठान, कमलादी, महासंघ सचिवालय टेकु, र कार्की ब्याङ्केट बबरमहलमा जिल्ला तथा नगर, एसोसिएट र वस्तुगतको मतदान गर्ने व्यवस्था महासंघले मिलाएको छ ।
FACEBOOK COMMENTS