काठमाण्डौँ — सरकारले नेपाल टेलिकममा प्रबन्ध दिर्नेशक पद खाली भएको झन्डै चार महिनापछि नियुक्ति प्रक्रिया सुरु गरेको छ।
साउनको अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो।
तालुक मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लामो समयपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेको छ।
प्रतिस्पर्धाका आधारमा प्रबन्ध निर्देशक नियुक्त गर्न योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
बुधबारसम्म अन्तिम मिति राखेर मन्त्रालयले मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो।
मन्त्रालयका सचिवको संयोजकत्वमा टेलिकमको प्रबन्ध दिर्नेशक सिफारिस गर्न छनोट समिति गठन गरिएको छ।
प्रतिस्पर्धाका लागि परेका दरखास्तबाट मूल्यांकन गरेर उक्त समितिले प्रबन्ध निर्देशकको लागि नाम मन्त्रालयमा सिफारिस गर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।
समितिले सिफारिस गरेका व्यक्तिबाट मन्त्रिपरिषद्ले प्रवन्ध निर्देशकको पदमा एक जनालाई नियुक्त गर्नेछ।
.— नागरीक
FACEBOOK COMMENTS