काठमाण्डौँ — नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ बनाएको छ ।
नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएल लगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।
यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ ।
विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्न समेत यसबाट सहज हुनेछ ।
पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।
साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ ।
प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ ।
गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ ।
FACEBOOK COMMENTS