काठमाडौं, असोज २६ – नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुँदैछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो बिल कात्तिक २३ गते परिपक्क हुनेछ । यस्तै, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २८ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकले १८२ दिनको लागि जारी गर्न लागेको २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने चैत ३१ गते परिपक्क हुनेछ ।
त्यस्तै, १ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७८ असोज २६ गते परिपक्वहुनेछ । ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
FACEBOOK COMMENTS