काठमाडौं, ६ चैत – नेपालमै पहिलोपटक हुन लागेका फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को अक्सन सम्पन्न भएको छ । शुक्रबार होटल सोल्टी क्राउमा भएको अक्सबाट १४९ खेलाडीमध्ये ९८ खेलाडी बिक्री भए ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ श्रेणीमा विभाजन गरिएको थियो ।
‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य २ लाख थियो । यो श्रेणीमा रहेका २८ मध्ये २१ खेलाडी बिक्री भए । ‘ए’ श्रेणीका खेलाडीका ८ खेलाडीले अधिकतम २ लाख प्राप्त गरे ।
‘बी’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य १ लाख २० हजार थियो । यो श्रेणीमा रहेका ६३ खेलाडीमध्ये ४२ खेलाडी बिक्री भए ।
‘सी’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य २० हजार र अधिकतम मूल्य ७५ हजार थियो । यो श्रेणीमा रहेका ५८ खेलाडीमध्ये ३५ खेलाडी बिक्री भए ।
लिगमा सहभागी ७ फ्रेन्चाइज टोली विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, बुटवल–लुम्बिनी एफसी, पोखरा थन्डर्स र धनगढी एफसीले खेलाडीमाथि बोली लगाएका थिए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा सिंगल राउन्ड रोविनका आधारमा हुने लिग आगामी वैशाख ११ देखि २५ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
FACEBOOK COMMENTS