काठमाडौं, १६ मंसिर – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको एयरपोर्टको रुपमा विकास गर्ने बताए । आज नेपालगन्ज विमानस्थलमा एटीआर ७२ स्तरका थप ६ वटा जहाजहरु पार्किङ गर्न सकिने गरी निर्माण सम्पन्न भएको एप्रोनको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालगन्ज एक अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र भएकोले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने बताएका हुन् ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलको गुरु योजना मन्त्रिपरिषदबाट पास हुने क्रममा रहेको जानकारी दिंदै सो विमानस्थलको क्षमता विस्तारमा प्रधानमन्त्रीको समेत चासो रहेको बताए । मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलको रनवे विस्तार गरिने, टर्मिनल भवन नयाँ बनाउने बताउँदै रनवेको लागि थप जग्गा अधिग्रहण गरिने समेत बताए । उनले रनवे १८ सय मिटर भएमा एयर बस ३२० अवतरण गर्न सक्ने जानकारी दिंदै रनवेको लागि जग्गा थप गरेर भए पनि रनवे विस्तार गर्ने बताए ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलले विकास दिल खोलेर गर्ने बताउँदै विमानस्थल विस्तारमा साझेदारीको मोडललाई आत्मसाथ गरिने बताए । उनले नेपालगन्ज एयरपोर्ट विस्तारको काममा नगरप्रमुखलाई साझेदारी गर्न आग्रह समेत गरे । उनले सुर्खेत, विराटनगर र महेन्द्रनगर एयरपोर्टमा प्रदेश र स्थानीय सरकारसँग साझेदारीमा काम अगाडि बढाईएको जानकारी समेत दिए।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल पूर्वाधारमा सहकार्य नीति अवलम्बन गरेको बताए। हाल नेपालगन्ज एयरपोर्ट लम्बाई १५ सयबाट बढाएर १७ सय पाँच पुर्याइएको छ ।
FACEBOOK COMMENTS