काठमाडौं, माघ १५ –अन्तर्राष्ट्रिय नागरिक समाज संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययनअनुसार नेपालमा भ्रष्टाचार झन् बढेको देखिएको छ । १ सय ८० देशको सार्वज्निक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १ सय १७ औं स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्याङ्कअनुसार दक्षिण एसियाली देशमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा नेपाल चौथो नम्बरमा छ । नेपालभन्दा अगाडि सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा पहिलो नम्बरमा अफगानिस्तान, दोस्रोमा भुटान र तेस्रोमा पाकिस्तान छन् ।
छिमेकी राष्ट्र भारत दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा छैटौं स्थानमा छन् । भारतभन्दा अगाडि श्रीलंका र नेपाल छन् । दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान छ । विश्वव्यापी तथ्याङ्कमा पनि भुटान कम भ्रष्टाचार हुने देशको सूचीमा छ । भ्रष्टाचार हुने विश्वका १ सय ८० देशमध्ये २४ औं स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेशलले आज (बिहीबार) संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको हो । सूचकांकमा १०० अंकले अति स्वच्छ र शुन्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंक प्राप्त गरेको छ ।
गत वर्ष यो सूचनाकांकमा नेपालले १०० अंकमा ३४ अंक प्राप्त गरेको थियो । गत वर्ष (सन् २०१९ मा) भ्रष्टाचार हुने देशको सूचीमा नेपाल १ सय १३ औं स्थानामा थियो ।
भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नभएको औंल्याएका ट्रान्सपरेन्सी इन्टरनेशनले जनाएको छ । ‘सरकारको भ्रष्टाचार विरोध प्रयाय पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको सन्देश दिएको छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीभीईएम समेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सूचकांकसहितको रिपोर्ट तयार पारेको हो ।
यस वर्ष विश्वमा कम भ्रष्टाचार हुने मुलुकमध्ये डेनमार्क र न्यूजील्याण्ड पहिलो नम्बरमा छन् । यी दुई देशले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा १०० अंकमा ८८ अंक प्राप्त गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशलले सन् १९९५ देखि प्रत्येक वर्ष यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । नेपाल भने यो तथ्याङ्कमा सन् २००४ देखि समावेश भएको हो ।
FACEBOOK COMMENTS