जमुना भण्डारी
काठमाडौं, मंसिर २- आफु राम्रो देखिनु सबैको चाहना हुन्छ । अझ बिशेष गरी नारीहरु आफु कसरी राम्री देखिन्छु भन्नेमा सधै सचेत रहेका हुन्छन् । घरमा होस् वा अफिस, विवाह होस् वा पार्टीमा नारीका मेकअप पनि भिन्न भिन्न हुने गर्दछ । समय, मौसम र समारोह अनुसार नारीको मेकअप भिन्न भिन्न हुन्छन् ।
सौन्दर्य प्रति आएको चेतनाका कारण अहिलेका नेपाली नारी आफ्नो अनुहारको छाला सुहाउँदो क्रिम तथा कस्मेटिकका सामग्रीहरु प्रयोग गर्न रुचाउँछन् । नेपाली बजारमा विभिन्न स्वदेशी तथा विदेशी ब्रन्डमा सौन्दर्य सामग्री उपलब्ध छन् भने सामग्रीको गुणस्तर अनुसारका सस्तादेखि महंगा सामग्री पाउँन सक्छौं ।
तर नेपाली बजारमा पाइने यस्ता अधिकाशं सौन्दर्य सामग्री विदेशबाट आयात गरेको पाइन्छ । नेपालमा यस्ता सौन्दर्य सामाग्री न्युन मात्रामा मात्र उत्पादन हुने गरेका छन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा एक बर्षमा ३ अर्ब ३० करोड ८ लाख १३ हजार रुपैंया बराबरको क्रिमको आयात हुन्छ । जसमा ४ करोड ५३ लाख ७० हजार ८९२ किलो क्रिम आयात गरिएको थियो ।
भारतबाट मात्रै २ अर्ब ४९ करोडको क्रिम
नेपालमा धेरै मात्रामा भारतबाट क्रिम आयात भएको देखिन्छ । भारतबाट एक बर्षमा २ अर्ब ४९ करोड १ लाख रुपैंया बराबरको क्रिम आयात गरिएको देखिन्छ । भारतबाट मात्र ३ करोड ५० लाख ५८१ किलो क्रिम आयात गरिएको छ ।
त्यस्तै गरी दोस्रोमा थाइल्याण्डबाट आयात भएको देखिन्छ । थाइल्याण्डबाट २३ करोड ७८ लाख ९० हजार रुपैंयाको आयात गरेको तथ्यांकले देखाउँछ । त्यसै गरी चीनबाट २२ करोड ७८ लाख २८ हजार रुपैंया बराबरको क्रिम आयात गरिएको छ ।
नेपालमा इन्डोनेसिया, कोरिया, अमेरिका, जर्मनी , दक्षिण अफ्रिका र इटाली लगायतका देशबाट क्रिम आयात गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाउँछ ।
२० करोडको गाजल मात्र
त्यसै गरी नेपालमा आँखा मेकअपका लागि आवश्यक पर्ने आइलाइनर, मसकारा, गाजल लगायतका सामग्री २० करोड ९७ लाख ६५ हजार रुपैंया बराबरको आयात गरिएको तथ्यांकले देखाउँछ । जसमा ६२ लाख ५७ हजार ३२८ किलो आँखा सौन्दर्यका सामग्री आयात गरिएको छ ।
आइलाइनर, मसकारा, गाजल लगायतका सामग्री सबै भन्दा बढी चीनबाट आयात गरिएको छ । चीनबाट १० करोड ३२ लाख ६४ हजार रुपैंया बराबरको आयात गरिएको छ । त्यसै गरी भारतबाट ६ करोड ४३ लाख मुल्य बराबरको सौन्दर्य सामग्री आयात गरिएको छ । नेपालले जर्मनी, नेदरल्याण्ड, इटाली लगायतका देशबाट पनि गाजल लगायतका आँखा सौन्दर्य सामग्री एक बर्षमा आयात गरेको तथ्यांकले देखाउँछ ।
FACEBOOK COMMENTS