काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।
गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो ।
धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीदरबिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो ।
शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो ।
स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो ।
लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ ।
नेप्सेले नयाँ प्रणालीको माध्यमबाट धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोवार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका कार्य गर्न सक्ने व्यवस्था छ ।
पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आउँदा ती विषयमा धेरैले थाहा नै पाएका थिएनन् ।
कारोवारमा समेत केही समस्या देखिएको थियो । नेप्सेको डिस्प्लेमा कारोवारको सही तथ्याङ्क नदेखिँदा लगानीकर्तामा अन्योल बढाइदिएको थियो । स्टकका प्रवक्ता पराजुलीले सबै खालका समस्या समाधान भएको र अब पूर्णरुपमा नयाँ प्रणाली सञ्चालन भएको बताए।
लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी सेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् ।
नेप्सेले विगत दुई दशकदेखि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ । पछिल्लो प्राविधिक विकासलाई आत्मसात गर्दै जाने क्रममा ती प्रविधि प्रयोगमा ल्याइएका हुन् ।
रासस
FACEBOOK COMMENTS