काठमाडौँ, ३ फागुन – न्युजिल्याण्डमा कोरोनाभाइरस विरुद्धको खोप पहिलो पटक सोमवार भित्र्याइएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमवार मात्रै खोप ल्याइएको पुष्टि गरेकी हुन् ।
स्थानीय समय अनुसार सोमबार विहान ९.३४ मा ६० हजार मात्रा खोप स्वदेश ल्याइएको उनले जानकारी दिइन् । खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, “फाइजर/बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अव यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानको रुपमा अगाडि बढाउने तयारी भएको छ ।” आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् ।
उनकाअनुसार आगामी शनिवारदेखि सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ । कोरोनाभाइरस विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन् ।
आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ । एक जनालाई दुई ओटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो । “अग्रपङ्क्तिमा रहेर कामगर्दै आएका सफाई मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,” उनले भनिन् ।
FACEBOOK COMMENTS