काठमाडौं, बैशाख ३- पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्। उनले पछिल्लो २४ घण्टामा दुई हजार ८९४ जनाको परीक्षण गरिएको जानकारी दिए ।
उनले विभिन्न जिल्लामा भएको र्यापिड टेस्टमा भने पोजेटिभ देखिएको तर पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने बताए।
अहिलेसम्म पीसीआर र र्यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ।
संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
