काठमाडौं, पुष ९ – पठाओमा यात्रा गर्दा ५ लाखसम्मको बीमा हुने भएको छ। पठाओले एभरेष्ट इन्स्योरेन्ससँग राइडर र यात्रु दुवैको बीमा सम्झौता गरेको हो। पठाओ नेपालले विगत २ वर्षदेखि नै आफ्नो योजनाअनुरुप विभिन्न इन्स्योरेन्स कम्पनीहरुसँग पहल गरे पनि सम्झौता हुनसकेको थिएन।
‘अब उप्रान्त हाम्रो एपमार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपाङ्गताजस्तो अवस्थामा बढीमा ५ लाखसम्मको बीमा गरिएको छ’, पठाओले विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो। पठाओले यात्रा गर्दा एपको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।
पठाओका अनुसार ५ लाखको इन्स्योरेन्सबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गरिएको समझदारीबाट सम्पूर्ण एप प्रयोग गरी सेवा लिने तथा सेवा दिने राइडर चालकहरुको बढीमा १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको छ।
दुवै सुविधाहरु उपयोग गर्नका लागि घटना भएपश्चात् २० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
FACEBOOK COMMENTS