काठमाडौं, फागुन ७ – सरकारी वकिल कार्यालयले पत्नीमाथि एसिड प्रहार गर्नेलाई साढे १५ वर्ष साजयको माग गरेको छ । जनकपुरका सञ्जीव साहलले श्रीमतिमाथि एसिड प्रहार गरेकाले १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको सरकारी वकिल कार्यालय धनुषाले जनाएको हो ।
न्यायाधिवक्ता सीताराम अर्यालले आरोपित सञ्जीवविरुद्ध आफ्नो पत्नीमाथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैद सहितको अभियोग दर्ता गरिएको जानकारी दिए ।
आरोपितबाट उपचार खर्च र क्षतिपूर्तिसमेत माग दावी गरिएको उनले बताए । पीडित आरतीको मुद्दामा धनुषा जिल्ला अदालतमा फागुन १९ गते बकपत्रको मिति तोकिएको प्रदेश सरकारको तर्फबाट निःशुल्क कानुनी सहयोग गरिरहेकी प्रदेश कानुन सहायता अधिकृत रिन्कुकुमारी यादवले जानकारी दिइन् । उनले बकपत्रपछि मात्रै यस मुद्दामा थप अनुसन्धान र न्याय निरूपणको प्रक्रिया अघि बढ्ने बताइन् ।
गत कात्तिक २९ लक्ष्मी पूजाको दिन बिहान सञ्जीवले जनकपुरधाम वडा नम्बर ७ स्थित डेरामा पत्नी आरती साहमाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरतीसहित ३ वर्षीया छोरी रिया साहको समेत हात र टाउकोको केही भाग जलेको थियो ।
आरतीको अनुहार करिब ३० प्रतिशत जलेको छ । उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ । उनको उपचारमा सरकारले समेत सहयोग गरिरहेको छ । यस्तै आरतीलाई प्रदेश नम्बर २ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा आगामी साउनदेखि जागिर दिने प्रक्रियासमेत अघि बढाइएको सो कार्यालयले जनाएको छ ।
धनुषा सबैला नगरपालिका वडा नम्बर ६ का २६ वर्षीय सञ्जीव साहसँग आरतीको ५ वर्षअघि विवाह भएको थियो । तर उनको दाम्पत्य जीवन सुखद ढंगले वित्न सकेन । सम्बन्धविच्छेद हुने भएपछि आफूलाई कुरुप बनाउनका लागि सञ्जीवले एसिड प्रहार गरेको आरतीको भनाइ छ । आरतीमाथि यसअघि सञ्जीवले पटक पटक यातना दिँदै आएका थिए ।
FACEBOOK COMMENTS