काठमाडौं, चैत २७ – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
पत्रकारहरुका बिभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेका रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्णले दुई सय ९२ भोट प्राप्त गरेका छन् ।
कैलालीको टिकापुरबाट पत्रकारितामा सक्रिय रावल यसअघि प्रदेश समितिका महासचिव हुन् । उनी प्रेस युनियन निकट हुन् । उपाध्यक्षमा डोटीका योगेन्द्र बलायरले ६ सय ६५ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्वन्द्वी कञ्चनपुरका लक्ष्मण तिवारीले तीन सय ६१ मत ल्याए ।
महासचिवमा कञ्चनपुरका रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कैलालीका शिवराज भट्टले चार सय २५ मत ल्याएका थिए । सचिवमा कैलालीका हरिप्रसाद जोशी ६ सय ६० मत सहित बिजयी भएका छन् । अर्का प्रत्यासी दार्चुलाका नरेन्द्रसिंह कार्कीले तीन सय ३७ मत प्राप्त गरे ।
यस्तै समावेशी सचिवमा दार्चुलाका प्रेम चुनाराले ६ सय ६६ मत ल्याउँदै बिजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर चदाराले तीन सय २१ मत प्राप्त गरे । कोषाध्यक्षमा डडेल्धुराका राम धामी पाँच सय ४८ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी अछामका नरेशकुमार शाहीले दुई सय ८१ मत प्राप्त गरे । बलार, ठगुन्ना, जोशी, चुनारा र धामी रावल प्यानलबाट निर्वाचित भएका हुन् । महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।
FACEBOOK COMMENTS