काठमाडौं, जेठ ३० – प्रेस काउन्सिका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले कोरोना भाइरसको विद्यमाने महारीका समयमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालले आइतबार आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।
पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने तथा स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै उनले मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै विधेयक प्रेसमैत्री हुनुपर्नेमा जोड दिए । लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत सो अवसरमा अध्यक्ष बस्नेतले गरेका छन् । आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने, प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताएका । कार्यक्रमका संयोजक शरदप्रसाद अधिकारीले देश संघीयतामा गएसँगै काउन्सिलका कामकारबाही विकेन्द्रीकरण भएको बताए । सातवटै प्रदेशमा काउन्सिलको प्रतिनिधि भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको उनको भनाइ छ ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कार्यक्रममा लुम्बिनी प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षको सहभागिता रहेको उक्त कार्यक्रममा कोरोनाका कारण विज्ञापन पाउन मुश्किल भएको, बिलहरूको भुक्तानी समयमा नभएको, पत्रिका प्रकाशनमा समस्या आएको लगायत विषय छलफल भएको छ ।
FACEBOOK COMMENTS