कार्तिक ९, दुबई — इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाबले शनिबार सनराइजर्स हैदराबादलाई १२ रनले हराएको छ । ‘लो स्कोरिङ’ खेलमा हैदराबाद नाटकीय पतनको सिकार भएको थियो ।
यो जितपछि १० अंकसहित पाँचौं स्थानमा रहेको पन्जाबले प्लेअफका लागि मिहिनेत गर्न सक्नेछ । हैदराबाद भने आठ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो ।
जितका लागि १ सय २७ रन पछ्याएको हैदराबाद एक समय चार विकेट गुमाएर सय रनको स्थितिमा थियो । त्यसयता १४ रनमा बाँकी ६ विकेट गुमाई १९.५ ओभरमा १ सय १४ रन बनाएर अलआउट भयो ।
हैदराबादका लागि कप्तान डेविड वार्नर र जोनी बियरस्टोले ५६ रनको साझेदारी गरेका थिए । पछि पन्जाबका लागि अश्रदीप सिंह र क्रिस जोर्डनले तीन–तीन विकेट लिए । यसअघि पन्जाबले २० ओभरमा सात विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
FACEBOOK COMMENTS