काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ९ दिनपछि अर्थात आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । भारतीय मिडियाले समेत यसबारे समाचार प्रकाशन गर्न थालेका छन् ।
पछिल्लो समय नेपाल-भारत सम्बन्ध सुध्रिएको नेपालका प्रधानमन्त्री केपी ओलीले बताइरहँदा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तय भएको हो । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।
जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालको प्रतिनिधिसभा विघटन गरेपछि नेपालको तर्फबाट हुन लागेको यो पहिलो कुटनीतिक भ्रमण हो ।
भारतीय सेना प्रमुख र विदेश सचिव साथै रअ प्रमुखले नेपाल भ्रमण गरेलगत्तै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्न लागेका हुन् । यद्यपित गत नोभेम्बरमा चिनियाँ रक्षामन्त्री लगायत केही अधिकारीहरुले समेत नेपाल भ्रमण गरिसकेका थिए ।
नेपालको संसद विघटनको प्रभाव छिमेकीसहित अन्य देशहरुसँगको कुटनीतिक सम्बन्धमा पनि प्रभाव पर्नसक्ने बताइन्छ ।
FACEBOOK COMMENTS