काठमाडौं, बैशाख ८ -संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न नयाँ रणनीति बनाउनुपर्ने बताएका छन् । मन्त्री भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना पर्यटन बिदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयमा आयोजना गरेको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन । उनले पर्यटन क्षेत्रको वित्तीय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए ।
‘तत्कालै अन्तर्राष्ट्रिय पर्यटकको बाढी नै नआउन सक्छ, त्यो अवस्थामा हामीले आन्तरिक पर्यटनमा जोड दिँदै, हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारी, र सबै संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भने ।
मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ ।
सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए ।
मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए ।
पर्यटन क्षेत्रमा कोरोनाबाट एक खर्बको क्षति
नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए ।
सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए ।सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए ।
सामाजिक सुरक्षा कोष प्रयोग गर्न माग
होटल संघ नेपालका द्धितिय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए ।
‘अब लकडाउन खुलिहालेपनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दुरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उनले भने, ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो,’ ।
उनले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकोले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताए ।
अव सरकारले नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग कसरी गर्ने र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने विषयमा केन्द्रित हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS