वि.स. २०१५ साल माघ २ गते नेपालगञ्जमा जन्मिएका असित शमशेर जंगबहादुर राणा स्नेहा ग्रुपका अध्यक्ष हुन् । स्नेहा ग्रुपअन्तर्गत अहिले नेपालगञ्जको आदर्शनगरमा होटेल स्नेहा सञ्चालनमा छ ।
पूर्वप्रधानमन्त्री देव शमशेर जंगबहादुर राणाको वंशमा जन्मिएका असित जबरा जमीनदारका छोरा हुन् । त्यसबेला उनका बुबा पृथु शमशेर जबराले बर्दिया सुगर मिल सञ्चालन गर्दथे । तर, आफ्ना जिजुबुबा देव शमशेरलाई उनकै भाइहरूले देशनिकाला गरेपछि परिवारसँगै भारतको देहरादुनस्थित मसुरीमा गएर बसोबास गरेका कारण उनको शिक्षादिक्षा पनि उतै भयो ।
त्यहाँ फेयर लन प्यालेस खडा गरी उतै सेटल भएका उनीहरूको अहिले पनि विवाहवारीलगायत सम्बन्धका कारण मसुरीलगायत क्षेत्रमा पारिवारिक सञ्जाल फैलिएको छ । उनले विद्यालय तहको अध्ययन मसुरीमै गरे । दार्जिलिङको सेन्ट जोसेफ केलेजबाट ग्राजुएशन गरेका उनले ओब्रोई ग्रुप अफ होटेलबाट होटेल म्यानेजमेन्टमा पोस्ट ग्राजुएट कोर्ष पूरा गरेका छन् ।
काठमाडौंमा सोल्टी ओब्रोई ग्रुप अफ होटेल सञ्चालनमा थियो । उक्त होटेल सञ्चालन गर्ने डेपुटी चेयरमेन बिक्की ओब्रोइ र असितका बुबाबीच निक्कै घनिष्टता थियो । सोही कारण असितलाई ओब्रोई स्कुल अफ होटेल म्यानेजमेन्ट (नयाँदिल्ली)बाट पोष्ट ग्राजुएट कोर्ष गर्न सहज समेत भएको उनी बताउँछन् । त्यहाँ उनले करिब २ वर्ष लगाएर होटेल म्यानेजमेन्टको कोर्ष पूरा गरे । जुन–जुन देशमा ओब्रोइको होटेल थियो ती देशका लागि होटेल म्यानेजमेन्ट सिक्नका लागि नयाँ दिल्ली केन्द्र नै बनेको थियो ।
होटेल म्यानेजमेन्ट सिक्ने क्रममा उनले भारतको जाकिर हुसेन रोडस्थित ओब्रोई इन्टर कन्टिनेन्टल होटेलको विभिन्न विभागको रिपोर्ट संकलन तथा अध्ययन गरे । सन् १९७९ को समयमा होटेल म्यानेजमेन्टको राम्रो स्कोप थियो । राम्रो स्कोप भएका कारण त्यसबेला मानिसहरू होटेल म्यानेजमेन्टलाई ‘ह्वाइट कलर’ भन्ने पनि गर्दथे ।
दुई वर्षपछि ओब्रोइ होटेलका लागि योग्य त बने तर, उक्त तालिम पाइसकेपछि जुनकुनै ओब्रोइ होटेलमा ८ वर्ष काम गर्नुपर्ने प्रतिबद्धता गर्नुपथ्र्यो । त्यसैअनुसार नयाँदिल्ली, कलकत्ता र बम्बईलगायत क्षेत्रमा काम गरिरहेका उनलाई आफ्नो बुबा–आमाले नेपालमा आउन अनुरोध गरे ।
नेपालगञ्जस्थित उनको घर पुरानो भइसकेको थियो । सोही समयमा उनका बुबा–आमाले त्यो घरलाई होटेल बनाउन असितलाई सल्लाह दिए । पुरानो भइसकेको घर थप बिग्रिन नदिन आफ्नो बुबा–आमाले दिनुभएको सल्लाहलाई इन्कार गर्न नसकेपछि उनले आफ्नो पुरानो घरलाई आवश्यक मर्मतसम्भार गरी ‘स्टार’ होटेलसरहको सेवा दिनेगरी होटेल बनाए । होटेल त बनाए तर, होटेलमा पाहुना ल्याउन सक्ने स्थिति नभएपछि केहीसमय उनी निराश पनि बने ।
त्यसबेला नेपालगञ्ज भूपरिवेष्टित शहर थियो । काठमाडौंबाट त्यहाँ पुग्न भारतको बाटो हुँदै जानुपथ्र्यो भने हवाई सेवाअन्तर्गत नेपाल एयरलाइन्सको सानो जहाज मात्रै जान्थ्यो । गएको जहाजमा पनि थोरै मात्र यात्रु नेपालगञ्ज जाने गर्दथे । मानिसहरूको चहलपहल कम हुँदा त्यहाँ उनले सोचेजस्तो होटेल चल्नसक्ने स्थिति बनेन ।
पर्यटन पूर्वाधारबिना अन्य संरचना चल्न नसक्ने देखेका उनले नेपालगञ्जमा पूर्वाधार विकास कसरी गर्न सकिन्छ भनेर चिन्तन गर्न थाले । पिथौरागढबाट कैलाश मानसरोवर जाने ट्रेकिङ रुटका बारेमा थोरै कुरा सुनेका उनी नेपालगञ्जको प्रचारमा निस्किए । तत्कालीन डीआईजी अमरसिंह शाहसहित आफ्नी पत्नी भवानी राणालाई लिएर हेलिकोप्टरमार्फत सिमीकोटको हिल्सा पुगे ।
सोही क्रममा उनको टोली कैलाशस्थित तक्लाकोट पुग्यो । त्यहाँ उनीहरूले चीनको टिबेट प्रदेशका गभर्नरलाई भेटेर भारतीय तीर्थयात्रीलाई नेपालगञ्जको बाटो हुँदै कैलाश मानसरोवर पुग्ने अनुमति दिन माग गरे । उनीहरूको त्यो प्रस्ताव ती गभर्नरले स्वीकार पनि गरे ।
व्यक्तिगत तवरबाट भएको उक्त पहल र हिल्साबाट भारतीय पर्यटकहरूलाई ल्याउनेबारे उनीहरूले गृह मन्त्रालयलाई जानकारी दिए । तर, तत्कालीन समयमा खम्पा विद्रोह भएको उक्त क्षेत्र नेपालले औपचारिक रूपमा नखोलेको र तत्काल खोल्न नमिल्ने जानकारी दिए । त्यसबेला खम्पा विद्रोह भएको लामो समय बितिसकेकाले सो क्षेत्रलाई खुला गर्न उनले मन्त्रालयलाई आग्रह गरे, तर त्यो माग पूरा गर्न गृह मन्त्रालयले अस्वीकार ग¥यो । त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सोही जानकारी गराए । फलस्वरूप त्यसको दुई महिनापछि प्रधानमन्त्रीले उक्त स्थानमा सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको जानकारीसहित पत्र पठाए । त्यसले डोल्पा र माथिल्लो डोल्पा समेत खुलाउने वातावरण बन्यो ।
त्यसपछि फरक–फरक संस्कृति भएको डोल्पा, सिमीकोटलगायतका ठाउँहरूको चर्चा हुन थाल्यो । आफूले इन्डियाबाट एमआई–१७ हेलिकोप्टरमा पर्यटक उडाउन थालेको तथा उनीहरूलाई नेपालगञ्जबाट उडाएर हिल्सामा छोडिदिने र त्यहाँको विभिन्न ठाउँ घुमिसकेपछि एक हप्तापछि फेरि पिकअप गर्ने गरेको उनी बताउँछन् । यसो गर्दा उक्त क्षेत्रमा पर्यटकको चाप बढेको तथा नेपालगञ्जका होटेलहरू समेत चल्न थालेको उनको भनाइ छ । त्यसपछि काठमाडौंमा नाम चलेका ‘फाइभ स्टार’ होटेलहरूले समेत नेपालगञ्जमा आफ्नो उपस्थिति जनाउन थालेको उनले सुनाए ।
यदि त्यसबेला हिल्सा र कैलाश मानसरोबर नखुलेको भए के हुन्थ्यो होला उनी अहिले कल्पना गर्न समेत सक्दैनन् । पछिल्लो समय कोभिड–१९ को प्रभावबाट थलिएको होटेल क्षेत्र अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा नआउँदा उनी दुःखित छन् । नेपाली अर्थतन्त्रको एउटा मुख्य खम्बाको रूपमा लिइएको पर्यटन क्षेत्र कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उनको बुझाइ छ ।
यस्तो अवस्थामा सरकारले उचित ध्यान दिएर पर्यटन पूर्वाधार र आधारभूत विकासको काम गर्नुपर्ने उनी बताउँछन् । निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने हो भने देशको विकास गर्न समेत सहज हुने उनको विश्वास छ । सरकारले आधारभूत विकास गरिदिने हो भने निजी क्षेत्रले विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने उनको दृष्टिकोण छ ।
होटेल, एयरलाइन्स, कार्गो र ट्राभल एजेन्सीलगायत क्षेत्रमा जीवनको उर्वर समय खर्चिएका राणा अब पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रमा आफ्नो लगानी तथा योगदान कमै रहने बताउँछन् । जे गर्छु पर्यटन क्षेत्रमै गर्छु भन्ने दृढ विश्वास बोकेका राणा कर्णालीमा जेट बोट चलाउन चाहन्छन् । त्यसका लागि अमेरिकी कम्पनीसँग कुराकानी भइरहेको बताउँदै उनले जेट बोट नेपाल ल्याएर कर्णाली सेरोफेरोका कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म ल्याउने वातावरण बनाउने योजनामा छन् ।
FACEBOOK COMMENTS