काठमाडौं,कार्तिक ६ – आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएको छ । पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै घाट सेवा केन्द्रका कामदारहरु आन्दोलनमा उत्रिए पछि पशुपति आर्यघाटमा असहज परिस्थिति सृजना भएको थियो ।
पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रकाबीच कामदारको पारिश्रमिक बढाउने सहमति भएसँगै कामदारहरु काममा फर्किएका हुन् । कामदारहरुले आफ्नो माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने जस्ता कामहरु बन्द गरिएको व्यानर टाँगी घोषणा गरेका थिए ।
सहमति पश्चात अब शवदाह सेवा शुल्क रु १२ सयबाट बढेर १५ सय बनाइएको छ भने १० वर्षसम्मको बच्चाको शबदाह शुल्क ७ सयबाट बढाएर ९सय पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२ सय बाट बढेर १५ सय पुगेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो ।
त्यसै गरी दाउरा परिवहन तथा चिता निर्माण गरेको ४ सय रुपैंयाबाट बढाएर ६ सय रुपैंया बनाइएको छ भने चपरी खनेवापत दिदैं आएको ३ सयबाट बढाएर ४ सय पुर्याइएको ढकालले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS