‘सरकारको निर्णय सकारात्मक छ, हाम्रा अन्य माग यथावत् छन्’
काठमाडौँ — बानेश्वरकी मनीषा थापा आफ्नो रिटेल पसलका लागि सामान किन्न दिने भएपछि बिहीबार न्युरोड आइन् । सरकारले बुधबार स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि शंखमूलस्थित स्मार्ट फेसन वेयर सञ्चालन गर्दै आएकी उनी न्युरोडस्थित कपडाको होलसेल पसल आएकी थिइन् ।
‘लकडाउन अलिक खुकुलो हुने देखेर पसलका लागि सामान किन्न आएकी हुँ,’ उनले भनिन्, ‘एक सातादेखि पसल खुला नै छ । प्रहरीबाट बचेर बिहान बेलुका एकदुई घण्टा पसल खोल्थें ।’ सरकारले व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि आफूहरूलाई केही राहत मिलेको उनले बताइन् । अब अवरोध नभए पहिला जस्तै दिनभर पसल खोल्ने उनको भनाइ छ ।
न्युरोडमै आईटी स्टोर सञ्चालन गरिरहेका जयराम केसीले लकडाउनपछि पहिलो पटक बिहीबार आफ्नो पसलको सटर उठाए । व्यवसाय गर्न पाइएपछि उनी खुसी देखिन्थे ।
‘गतसाता प्रहरीले खोल्न दिएन । कहिले सहज स्थिति आउँछ र खोल्न पाइन्छ भन्ने थियो,’ उनले भने, ‘अब बिस्तारै बजार खुल्दै छ । निर्बाध रूपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ ।’
काठमाडौंमा बिहीबार न्युरोड, महाबौद्ध, असन, इन्द्रचोक र सुन्धारालगायत स्थानका पसल सञ्चालनमा आए । कपडा, सुनचाँदी, घडी, मोबाइल, भाडा, ग्यारेज र विभिन्न मर्मत पसल खुलै थिए ।
व्यवसायीहरूलाई लकडाउनमा बन्द गरेर राख्नुको कुनै अर्थ नभएको न्युरोडस्थित मोबाइल पोइन्ट इन्टरनेसनलका सञ्चालक नरेन्द्रराज ढकाल बताउँछन् । ‘लकडाउनमा भित्र बसेको केही अर्थ देखिएन । कि त सरकारले सबैको कोरोनो परीक्षण दायरा बढाउनुपर्यो,’ उनले भने, ‘महिनामा ३ देखि ४ लाख रुपैयाँसम्म नोक्सान बेहोरेर भित्र बसेर मात्र केही हुँदैन । रोगभन्दा पनि भोकले मरिन्छ कि भनेर बाध्यताले मात्र पसल खोलेका हौं ।’
केही दिनदेखि व्यवसायीहरूले विश्व स्वास्थ्य संगठनले अपनाउन सुझाएको सुरक्षा मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न पाऊँ भन्दै प्रदर्शन गरेका थिए । सरकारले उक्त माग सम्बोधन गर्नु सकारात्मक भएको व्यवसायी बताउँछन् ।
पसल खोल्न पाएकाले एक किसिमको ढुक्क भएको रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गरिरहेका सन्तोष भट्टराईको भनाइ छ । ‘गत बिहीबारदेखि बिहान ८ देखि ११ बजेसम्म पसल खोल्थ्यौं । प्रहरीको अवरोधले समस्या भयो,’ उनले भने, ‘अब भने व्यवसायीहरूलाई धेरै राहत मिलेको छ । लकडाउन लम्बियो भने हामीलाई धेरै समस्या हुन्छ ।’ बैंकको कर्जा, घर भाडा र कर्मचारीलाई तलब गरेर महिनामै लाखौं रुपैयाँबराबरको नोक्सान भइरहेको उनले बताए । लकडाउन झन् लम्बियो भने व्यवसायी सडकमा पुग्ने उनको भनाइ छ ।
रञ्जनाको गेटमा सुरक्षा गार्डले ज्वरो मापन र सेनिटाइजर प्रयोगपछि मात्र सेवाग्राही प्रवेश गर्न पाउँछन् । यहाँका व्यवसायीले पनि पसलमा सेनिटाइजर, मास्क, पन्जासहित र एक मिटरको दूरी कायम गरेर काम गरिरहेको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले जानकारी दिए ।
‘व्यवसाय गर्न पाऊँ भन्ने हाम्रो माग थियो । सरकारले त्यो सुनिदियो, अन्य माग यथावत् नै छन्,’ उनले भने, ‘अब निरन्तर व्यवसाय गर्न पाए भएको नोक्सानीको भर्पाई दसम्म गर्न सक्छौं ।’
लकडाउन बढाई मात्र रहने तर परीक्षण दायरा नबढाएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् । अर्थतन्त्र चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन लकडाउन खुकुलो बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
सरकारले व्यवसायीको केही माग सम्बोधन गरेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नवराज कटुवालले बताए । पसल सञ्चालन भए पनि लामो दूरीका यातायात सञ्चालन नभए व्यापार, व्यवसाय अझै संकटमा पर्ने उनको भनाइ छ । ‘लकडाउन अवधिभरको बैंकको ब्याजदर, घरभाडा र सरकारले राजस्व छुट गराइदिनुपर्ने माग अझै छन्,’ उनले भने, ‘हामीले व्यवसायीका लागि राहत प्याकेज पनि मागेका छौं ।’
निजी क्षेत्रले गर्यो सरकारी निर्णयको स्वागत
व्यापार व्यवसाय सञ्चालन गर्न पाउने सरकारको निर्णय स्वागतयोग्य रहेको निजी क्षेत्रका छाता संगठनहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल राष्ट्रिय व्यापार महासंघले सरकारले लकडाउन खुकुलो बनाउनेसम्बन्धी मोडालिटी सकारात्मक भएको प्रतिक्रिया दिए ।
‘हामी उद्योगी व्यवसायीले कति दिन लकडाउनमा बस्ने भनेर सरकारलाई लकडाउन खुकुलो पार्न भनिरहेका थियौं,’ महासंघकी अध्यक्ष भवानी राणाले भनिन्, ‘व्यवसायीले बैंकबाट ब्याज लिएर काम गरेका छन् । उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा छन् भनेपछि अलिकति खुकुलो बनाएर सञ्चालन गर्न दिने जुन निर्णय भयो, त्यो स्वागतयोग्य छ ।’ रोगले मात्र होइन, भोकले पनि मानिसले आत्महत्या गर्ने अवस्थामा पुगेको र धेरै श्रमिक बेरोजगार भएर बस्नुपरेको उनको भनाइ छ ।
निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयले व्यवसायीहरूलाई आशा जगाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘अब सरकारले गरेको निर्णयको पालना गर्दै कोभिड–१९ बाट बच्न सुरक्षाका उपाय अपनाई काम गर्नुपर्छ,’ उनले थपे ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS