(डा.महेन्द्र विष्ट नेपाल टेलिभिजन संस्थानका कार्यकारी अध्यक्ष हुन् । डा. विष्ट नेपालको संचार तथा पत्रकारिता क्षेत्रका दिग्गज मध्येका एक अग्रणी ब्यक्तित्वमा गनिन्छन् । अनुभव, बौद्धिकता एबम् शालिनताका हिसावले उनको कद उचो रहेको पाईन्छ । त्यसो त नेपाल सरकारले उनलाई करिब २ बर्ष अघि नेपालको पहिलो टेलिभिजन प्रसारण प्रदायक संस्थान नेपाल टेलिभिजनको नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो । यस दौरानमा उनले प्राप्त जिम्मेवारीलाई पुरा गर्न खरो रुपमा उत्रदै आएका छन् । २०७६ माघ १७ गते नेपाल टेलिभिजन ३५ औ बर्षमा प्रवेश गर्दैछ । यसै सन्दर्भमा नेपाल टेलिभिजनको अवस्था, ३५ औ बार्षिकोत्सवको तयारी, व्यवस्थापनको पाटो लगायतका बिषयसँग संबन्धित रहि कर्पोरेट खबरका सम्पादक सरोज ओझाले कार्यकारी अध्यक्ष डा. विष्टसँग गरेको कुराकानी 🙂
नेपाल टेलिभिजनको ३५ औं बार्षिकोत्सवको तयारीे बारे केहि प्रकाश पारिदिनुस् न ?
हामीले माघ १७ गते नेपाल टेलिभिजनको बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउन गइरहेका छौं । यहि अवसरमा हामीले नेपाल टेलिभिजनको पाँचौं च्यानल एनटिभि ईटहरी शुभारम्भ गर्दैछौं । अहिले एनटिभि ईटहरीको परिक्षण प्रशारण गरिरहेका छौं । यसै गरी बार्षिकोत्सवकै अवसर पारेर हामीले माघ २० गते विभिन्न खेलकुद कार्यक्रममा सहभागी भई उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार वितरण, एजेन्सी तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरणका साथै हाम्रो एनटिभिको मोवाइल एप पनि सोही दिन लन्च गर्दैछौं ।
हाम्रो मुल समारोह प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटा लगायत प्रदेशका मुख्यमन्त्री पनि कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसैैगरि अन्य संघसंस्था लगायत सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहनेछ ।
नेपाल टेलिभिजन नेपालकै नंबर वान च्यानलको रुपमा चर्चामा रहेको छ, हामीले यसो भनिरहदाँ यसलाई पुष्टि गर्ने आधारहरु के के छन् त ?
नेपाल टेलिभिजन स्थापनाका आधारमा पनि देशकै जेठो टेलिभिजन हो । यसको स्थापनाको लामो समय पछि मात्र सामुदायिक तथा निजी टेलिभिजन च्यानलहरु नेपालमा प्रशारण सुरुवात गरेका हुन् । नेपाल टेलिभिजन पहुँचका हिसाबले पनि विश्वका १४१ राष्ट्रमा स्याटलाइटका माध्यमबाट पुगेका छौं । त्यसै गरी टेरिस्टेरियलको माध्यमबाट भूगोलको ५२ प्रतिशतमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यासम्म हाम्रो पहुँच छ । साथै केबुलका माध्यमबाट पनि हामी पुगेका छौं, यो हाम्रो तथ्यांकले देखाएको छ । यसैले हामी पहुँचमा नंबर वान नै हौं । दर्शकको भ्यूवरसिप तथा विश्वसनियताका आधारमा पनि हामी अगाडी छौं । यो हाम्रो अनुसन्धानबाट प्रमाणित भएको छ ।
नेपाल टेलिभिजन सरकारी च्यानल भएकाले जनतासम्म पुग्न केहि जटिलताहरु छन् कि ?
सरकारी च्यानल भएकाले हामी झन धेरै जनताका नजिक भएर काम गरिरहेका हुन्छौं । उहाँहरुका सरोकारका बिषयमा कुरा उठाउँने र त्यस कुरालाई सरकारले कसरी संबोधन गर्दैछ भन्ने कुरा संप्रेषण गर्ने काम नै हामीले गर्ने हो । सरकारको समन्वयले हाम्रो कामलाई केहि पनि अफ्ठ्यारो हुदैन् । नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस ब्रोर्डकास्टको रुपमा लैजान सरकारले पनि निती नियम बनाउदैं गरेको छ र हामीले पनि यसलाई कसरी अझै राम्रो बनाउँन सक्छौं भनेर काम गरीरहेका छौं ।
“नेपाल टेलिभिजन पहुँचका हिसाबले पनि विश्वका १४१ राष्ट्रमा स्याटलाइटका माध्यमबाट पुगेका छौं । त्यसै गरी टेरिस्टेरियलको माध्यमबाट भूगोलको ५२ प्रतिशतमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यासम्म हाम्रो पहुँच छ । साथै केबुलका माध्यमबाट पनि हामी पुगेका छौं, यो हाम्रो तथ्यांकले देखाएको छ । यसैले हामी पहुँचमा नंबर वान नै हौं । दर्शकको भ्यूवरसिप तथा विश्वसनियताका आधारमा पनि हामी अगाडी छौं । यो हाम्रो अनुसन्धानबाट प्रमाणित भएको छ ।”
नेपाल टेलिभिजन संस्थान सार्वजनिक निजी साझेदारीमा जाने संभावना कत्तिको देख्नु हुन्छ ?
नेपाल टेलिभिजनको स्वामित्वमा साझेदारी हुदैंन् । यसमा नेपाल सरकारकै स्वामित्व रहन्छ । हामीले विषयबस्तुमा स्वामित्व साझेदारी गरेका छौं । अहिले पनि विभिन्न प्रेड्क्सन हाउसले बनाउने कार्यक्रम प्रशारण गरिरहेका छौं । व्यापारिक र विषयबस्तुमा साझेदारी हामीले अहिले पनि गरिरहेका छौं ।
धेरै टेलिभिजनहरुको भिडमा दर्शकहरुले नेपाल टेलिभिजन अन्तर्गतका प्रसारण च्यानलहरुलाई रोज्नुपर्ने कारण के देख्नुहुन्छ ?
नेपाल टेलिभिजन राष्ट्रको एउटा प्रमुख संचार माध्यम हो । यसले बजारका नाफामुखी विषयबस्तु भन्दा आवश्यक विषयबस्तुमा बढी ध्यान दिन्छ । यसका साथै हामी जनताको आवाजलाई विश्वसनिय रुपमा ठूलो जनसमुदायसम्म पु¥याउन सक्छौं । पहुँच र विश्वसनियता दुवैमा हामी अगाडी छौं । बिषयवस्तुमा पनि विविधता र व्यापकता ल्याएका छौं । हामी नेपाली मिडियामा त अगाडी छौं नौ हामी ग्लोबलाइजेसनको यो समयमा विश्वका अन्य मिडियासँग पनि प्रतिस्पर्धामा जान अझै बढी स्वस्थ र स्वच्छ मनोरञ्जनका साथै सशक्त विषयवस्तु उठानमा अघि बढिरहेका छौ । हाम्रो च्यानलहरु हेरिदिनुहोस् , हामी दर्शकको रचनात्मक आलोचना र सुझावको सधै स्वागत गर्दछौं ।
नेपाल टेलिभिजनबाट विभिन्न भाषाका कार्यक्रमहरु प्रशारण हुने गर्दछन् ,यसको औचित्य बारे पनि केहि प्रष्ट पारिदिनुस् न ?
नेपाल टेलिभिजनबाट अहिले पनि ७–८ वटा भाषाबाट कार्यक्रम प्रशारण गरिरहेका छौं । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरीएको मुलुक भएका कारण यसको संरक्षणका साथै उनीहरुको पहिचानको संरक्षण गर्नु हाम्रो दायित्व हो । हाम्रो सूचनाको पहुँच अन्तर्गत विभिन्न समुदायलाई उनीहरुकै भाषामा सूचना पु¥याउँने र उनीहरुका कुरालाई समावेश गर्ने हाम्रो लक्ष्य अनुरुप विभिन्न भापाभाषीका कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएका छौ ं। हामी संघियताको अभ्यास गरिरहेको यो समयमा सबैको आवाज समावेशी रुपमा पु¥याउँनु हाम्रो दायित्व हो ।
यहाँले नेपाल टेलिभिजनको नेतृत्व सम्हाली रहदाँ यसको व्यवस्थापनका क्रममा केहि जटिलताहरुको सामना गर्नूभएको छ कि ?
स्रोत र साधनको कमीका कारण व्यवस्थापनमा केहि जटिलता देखापर्दछ । साथै कर्मचारीहरुको आफ्नै खालको माइन्डसेट, काम गर्ने तरीकाका कारण केहि अफ्ठ्याराहरु आउने गर्दछन् । तर अहिले नेपाल टेलिभिजनमा क्रियाशिल दक्ष जनशक्ति र चुस्त व्यवस्थापन भएका कारण काम गर्न केहि गाह्रो छैन् ।
“हामीले अघिल्लो बर्ष प्रविधिमा रुपान्तरणको रुपमा काम ग¥यौं भने यो बर्ष “बिषयवस्तुमा सुधार पहुँचमा विस्तार” भन्ने थिममा काम गर्ने छौं । ”
यहाँले नेपाल टेलिभिजनको नेतृत्व सम्हादै गर्दा यसलाई अझ सुदृढ बनाउन के कस्तो योजनाहरु अघि सार्नु भएको छ ?
हामीले प्रत्येक बर्ष कार्यक्रमको थिम तयार गरेर काम गरिरहेका छौं । हामीले अघिल्लो बर्ष प्रविधिमा रुपान्तरणको रुपमा काम ग¥यौं भने यो बर्ष “बिषयवस्तुमा सुधार पहुँचमा विस्तार” भन्ने थिममा काम गर्ने छौं । साथै आगामी दिनमा डिजिटल प्ल्याटर्फममा हामी बलियोसँग उपस्थित हुने, कन्टेन्टमा सुधार गर्ने, मेघा सोहरु थप गर्ने र प्रदेश स्तरमा पहुँच बढाउने तर्फ काम गरिरहेका छौं ।साथै नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउन आगामी बर्षहरुमा एनटिभि बल्र्ड नामक अंग्रेजी च्यानल प्रशारण गर्ने हाम्रो योजना रहेको छ ।
बिषयवस्तुमा सुधार पहुँचमा विस्तारको नाराको अन्तर्य चाहि के छ त ?
बिषयवस्तुमा सुधार अन्तर्गत हामीले विविधता, समावेशिता, स्वच्छ मनोरञ्जन, पर्यटन तथा प्रकृति, महिला तथा सशक्तिकरणका साथै समाचारमा पनि खोजमुलक रिपोर्टलाई प्राथमिकतामा राखेर अगाडी बढीरहेका छौं । हामीले हाम्रो च्यानलबाट प्रशारण हुने कार्यक्रमको प्रस्तुतीमा पनि नविनता दिने कोशिस गरेका छौं ।
त्यसैगरि, पहुँचमा विस्तार अन्तर्गत हामीले डिजिटल प्लेटफर्मलाईे अगाडी बढाउन खोजिरहेका छौं । जसअन्तर्गत हामीले एनटिभीको एप लन्च गर्दैछौं भने हाम्रो टावरहरु पूर्ण रुपमा डिजिटलाईज गरेका छौं । हाम्रो नयाँ च्यानलको सुरुवातका साथै सिग्नललाई अझ क्लिएर गर्ने र थप टावर विस्तारमा पनि हामी लागिरहेका छौं । साथै दुरदराजका दर्शकसम्म हाम्रो पहुँच पुर्याउन र त्यहाँका विषयबस्तुलाई हाम्रोसम्म ल्याउन हामीले पहुँच विस्तार गरिरहेका छौं ।
FACEBOOK COMMENTS