काठमाडौं,फागुन २२- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण पाँच घन्टामा सफल भएको छ।
उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहान १० बजे प्रत्यारोपण शुरू गरी ३ बजे सम्पन्न गरिएको थियो।
बुधबार साढे ४ बजे उक्त अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको थियो।
प्रधानमन्त्री ओलीलाई उहाँकै भान्जीकी छोरी समीक्षा संग्रौलाले मिर्गौला दिनुभएको थियो। समीक्षाको पनि स्वास्थ्य अवस्था राम्रो भएको चिकित्सकहरूले जनाएका छन्। प्रधानन्त्रीको दोस्रोपटक प्रत्यारोपित मृगौलाले काम गरी उहाँले आधा लिटर पिसाब फेर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्काले जानकारी दिनुभयो।

मृगौला प्रत्यारोपण सफल भएसँगै प्रधानमन्त्रीको सम्पूर्ण अंग सुचारु भएको महानिर्देशक खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीको प्रत्यारोपण शल्य चिकित्सा टोलीमा डा. उत्तमकुमार शर्मा, डा. प्रेम ज्ञवाली, डा. अनन्तकुमार हुनुहुन्थ्यो भने प्रत्यारोपण चिकित्सा टोलीमा डा। दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा। रविन नेपाली हुनुहुन्थ्यो। त्यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्यलगायत सहभागी हुनुहुन्थ्यो।

अब प्रधानमन्त्री ओलीको ४ वटा मृगौला भएका छन्। दुईवटा आफ्नै र पहिलो र दोस्रोपटक प्रत्यारोपण गरिएको २ वटा गरी ४ वटा मृगौला भएको डा। ज्ञवालीले बताउनुभयो। उहाँको शरीरमा ४ वटा मृगौला भए पनि पछिल्लोपटक प्रत्यारोपण गरेकाले मात्र काम गर्ने डा। ज्ञवालीले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले दोस्रो प्रत्यारोपण नेपालमै गर्ने निर्णय लिएकाले नेपालको स्वास्थ्य सेवा र चिकित्सकहरूको आत्मबल एवं हौसला बढी देशप्रतिको थप जिम्मेवारी थपिएको विज्ञहरूको ठम्याइ छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।