काठमाडौं, १८ फाल्गुण -पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाडौंमा हुने भएको छ । स्मृतिसभाको आयोजना भरत मोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न लागेको हो । अधिकारीको निधनको वार्षिकीको अवसर पारेर आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो ।
अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष फागुन १८ गते निधन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् भने कार्यक्रममा नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काँग्रेस नेता डा शेखर कोइराला, राप्रपाका सह–अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीलगातयका नेताले अधिकारीकाबारेमा धारणा राख्नेछन् । स्वर्गीय अधिकारीकी सुपुत्री लिमा अधिकारीले स्मृति कार्यक्रममा ‘हाम्रो नजरमा भरतमोहन’नामक पुस्तकको विमोचनसमेत हुने जानकारी दिइन् ।
२०५१ मा तत्कालीन एमालेको नौं महिने अल्मपतको सरकारमा अर्थमन्त्री रहेका अधिकारी वृद्धभत्ता वितरण कार्यक्रमका योजनाकार एवं थालनीकर्ता थिए । यस्तै, ‘आफ्नो गाउँ आफैं बनाऔं’ नामको कार्यक्रममार्फत स्थानीय निकायमा बजेट पठाउने कार्यको थालनीको श्रेय पनि उनैलाई जान्छ । उनले अघि सारेका यी दुई कार्यक्रमहरुका कारण स्वर्गीय नेता अधिकारी जनप्रिय नेताका रुपमा स्थापित छन् ।
FACEBOOK COMMENTS