काठमाडौं, असोज २१ – पूर्व सभामुख कृष्णबहादुर महराले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र राजधानी राप्ती उपत्यका तोकिएकोमा एक विज्ञप्ती जारी गर्दै प्रदेशवासीलाई धन्यवाद तथा बधाई ज्ञापनप गर्नुभएको छ । विज्ञप्तीको पूर्ण पाठ:
प्रदेश सभाबाट प्रदेश नं. ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको छ । यस खुसीको अवसरमा लुम्बिनी प्रदेशबासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
प्रदेशको स्थायी राजधानी र प्रदेशको नामकरणका लागि मतदान गर्नुहुने सम्पूर्ण प्रदेश सभा सदस्यहरु, प्रदेशको राजधानी र नामका लागि आवश्यक पहलकदमी लिने सम्पूर्ण राजनीतिक नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु हो । प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं । देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै हामीले प्रदेश ५ को राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेका थियौं ।
तर, त्यतिबेलाको सरकारले हाम्रो कुरै नसुनी प्रदेशको एक छेऊमा अस्थायी राजधानी तोकेर विवादको वीउ रोप्ने काम भएको थियो । प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ । प्रदेश सभाले पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने र स्थायी राजधानी तोकिएको स्थानमा स्थायी संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्नतर्फ संघ तथा प्रदेश सरकारले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।
संघीयताको मर्मअनुसार भौगोलिक हिसाबले सबैको पायक पर्ने क्षेत्र दाङदेउखुरीको राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको यस ऐतिहासिक दिनको अवसरमा पुनः यहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
FACEBOOK COMMENTS