काठमाडौं, पुस १ – स्टेजमा दर्शकलाई हँसाएर मनोरञ्जन दिने कलाकारहरुको व्यक्तिगत जीवन सँधै हाँसोमय नहुन सक्छ । आफूभित्रका पिर-व्यथाहरुलाई लुकाएर अरुलाई हँसाउनु उनीहरुको पेशागत दायित्व हो । मनोज गजुरेल यस्तै एक कलाकार हुन्, जसले लामो समय आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकलाई मनोरञ्जन गराइरहे ।
करिब तीन वर्षअगाडि अचानक मनोजले पत्नी मिना ढकालसँग डिभोर्स गरेको समाचार सार्वजनिक भयो । उनका प्रशंसक र शुभचिन्तकहरुका लागि यो विल्कुल अप्रत्याशित खबर थियो । तथापि, यो उनीहरुले हठात् वा आवेशमा लिएको निर्णय थिएन । उनीहरुको दाम्पत्य जीवनमा ऐंजेरु पलाएको लामो समय भइसकेको थियो । मनोज र मिनाले एक-अर्कासँग सम्झौता गरेर नै सम्वन्धको रथलाई २२ वर्षसम्म धकेलेका थिए । मनोज आफ्नो करिअरमा बढि फोकस थिए भने मिना पारिवारिक दायित्वमा केन्दि्रत थिइन् ।
डिभोर्सलगत्तै अनलाइनखबरलाई बेग्लाबेग्लै दिएको अन्तरवार्तामा दुवैले विवाहको केही समयदेखि नै तनाव सुरु भएको बताएका थिए । मिनाका अनुसार उनले विहेको ४ वर्षदेखि नै अलग बस्न चाहे पनि मनोज सहमत भएका थिएनन् । आफूहरुबीच सामान्य विषयमै विवाद हुने गरेको सो अन्तरवार्तामा मिनाले खुलाएकी थिइन् । उनको भनाइ यस्तो थियोः
‘हामीबीच कुरा मिल्दैनथ्यो । उहाँ अति व्यस्त मानिस । मलाई समय दिन सक्नुहुन्नथ्यो । उहाँ व्यस्त मात्रै होइन, अस्तव्यस्त पनि हुनुहुन्थ्यो । कलाकार भए पनि चिटिक्क परेर हिँड्नुपर्छ, आफ्नो स्टाटस अनुसार चल्नुपर्छ भन्ने मेरो भनाइ रहन्थ्यो । उहाँ त्यो गर्न चाहनुहुन्नथ्यो मलाई त्यो मन पर्दैनथ्यो ।’
मिनाले यो पनि भनेकी थिइन्, ‘खासमा न उहाँ मलाई माया गर्नुहुन्थ्यो न म उहाँलाई माया गर्थेँ । हामीबीच लोग्ने स्वास्नीको सम्वन्ध मात्रै थियो, प्रेमको थिएन ।’
FACEBOOK COMMENTS